मुस्ताङको अन्नपूर्ण संरक्षित क्षेत्रमा बन अनुगमन नहुँदा २ कस्तुरीसहित १ फ्याउरो मृत फेला,४३ थान पासो बरामत
भाले कस्तुरीको नाभी काटीएको अवस्थामा र उक्त वन्यजन्तु सडेगलेको अवस्थामा भेटिएको


जोमसोम—अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना अन्तर्गत हिमाली जिल्ला मुस्ताङको उच्चलेंकमा नियमित बन गस्ती नहँुदा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम सुरु भएको छ ।एक्याप अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्प माथि निच्चा जगंलमा मंगलबार गस्ती गर्ने क्रममा शिकारीले थापेको पासोमा परी २ वटा कस्तुरीसहित एक वटा फ्याउरो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
वारागुङ मुक्तिक्षेत्र —१ माथिको उच्चलेंकमा वन्यजन्तुको चोरी शिकार हुने गरेको सूचनाका आधारमा अन्नपूर्ण संरक्षण आयोजना,ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोमको टोली,डिभिजन बन कार्यालयको टोली ,स्थानीय संरक्षण व्यवस्थापन समितिको टोलीसहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलीले वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्प माथिको उच्च्लेंकमा दुई कस्तुरी र एक फ्याउरो मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारीले दिए ।उनका अनुसार उक्त स्थानमा गस्ती गर्ने क्रममा वन्यजन्तुको अखेटोपहार तस्कर गर्नको निम्ति तस्करहरुले उच्चलेंकको बिभिन्न क्षेत्रमा मोटरसाईकलमा प्रयोग हुने ब्रेक तारले बनाएको ४१ थान पासो समेत फेला परेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार संरक्षित क्षेत्रमा बन तस्करहरुले थापेको पासोमा परी संरक्षित वन्यजन्तु अन्दाजी १२ केजीको भाले जातको कस्तुरी एक, अन्दाजी १२ केजी २८० ग्राम तौल भएको पोथी जातको कस्तुरी एक र ५ केजी ३५० ग्राम तौलको भाले जातको रातो फ्याउरो एक मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरीका अनुसार संरक्षित बन्यजन्तु कस्तुरीका नाभी बहुमुल्य पर्ने भएकाले यसको शिकार गर्ने गरेको पाईएको छ ।
बन गस्तीका क्रममा वन्यन्तु तस्करहरुले पासोमा परेको भाले कस्तुरीको नाभी काटीएको अवस्थामा र उक्त वन्यजन्तु सडेगलेको अवस्थामा भेटिएको अनुमगनमा खटिएका प्रहरी सहायक निरीक्षक सन्तोष विकले जानकारी दिए । पासोसहित मृत अवस्थामा फेला परेको वन्यन्तुको शव मंगलबार साँझनै एक्याप जोमसोम कार्यालयमा ल्याई आवश्यक कारबाहीको लागि मुचुल्का तयार गरिएको उनले बताए । पासोसहित मृत अवस्थामा भेटिएको वन्यजन्तुको शवसहित रिपोर्ट अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना अन्तर्गत क्षेत्रिय कार्यालय पोखरामा कारबाहीका लागि पठाउन तैयारी भईरहेको जनाईएको छ ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,संरक्षण ब्यवस्थापन समिति,शसस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले उक्त स्थानमा पुनः गस्ती तथा अनुगमनलाई तिब्रता दिएको छ । उनीहरुले अघिल्लो दिनमा सीमित स्थानमा गरिएको अनुमगनलाई पछ््याउदै बृहत प्रकारको बन गस्ती सुरु गरेका हुन् ।गस्तीको दोश्रो दिन बुधबार गरिएको अनुमगनमा अर्को एक वटा कस्तुरी पासोमा परेर मृत फेला परेको प्रहरीले जनाएको छ । तर ,टोली मुकाम नफर्किएकाले यसको पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाई छ । यो समाचार तयार पार्दै गर्दा टोलीले घटना स्थल र त्यस वरपर पर्ने बनक्षेत्रको कडा अनुमगन गरिरहेको छ ।
बर्सेनि बैशाख —जेठ महिनामा उच्चलेंकमा पाईने यार्सा गुम्बा टिप्ने सुरु हुन्छ । यार्सा टिप्न लेंक पुगेका टोलीले नै वन्यजन्तुको शिकार र चोरी तस्करी गर्ने घटना हुने गथ्र्यो । यसअघि मुस्ताङको थासाङ लेंक र घरपझोङका उच्चलेंकमा वन्यजन्तुको चारी शिकारी हुने गथ्र्यो । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना र डिभिजन बन कार्यालय रहेको मुस्ताङमा संम्वन्धित निकायले नियमित रुपमा बन अनुमगन नगर्दा वन्यजन्तुको चोरी ÷तस्करी वृद्धि हुने संम्भावना बढेको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ र बेनी—जोमसोम सडक सहज हुन थालेपछि अपराधिक प्रबृद्धिका ब्यक्ति र वन्यजन्तुको चोरी शिकारी गर्ने ब्यक्तिको घुस पैठ हुनसक्ने भएको हुँदा सीमानाकामा कडाई र बन अनुमगनमा जोड दिनुपर्ने स्थानीयबासीले बताएका छन् । उनीहरुले एक्याप र डिभिजन बन कार्यालयले उचित जिम्मेवारी बहन गर्न नसकेको समेत जनाएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया