५ वर्षमा गण्डकी प्रदेश सबै क्षेत्रमा सक्षम

समाधान संवाददाता २०७५ चैत २ गते ९:२२

बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुन । तस्बिर- अर्जुन काफ्ले

समाधान संवाददाता

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले ५ वर्षमा गण्डकी प्रदेश सबै क्षेत्रमा सक्षम हुने बताएकी छन् । आँधीखोला गाउँपालिकाको आयोजना सञ्चालन भएको दोस्रो अध्यक्ष कप रनिङ सिल्ड भलिबल प्रतियोगिताको शुक्रबार उद्घाटनपछि उनले शिक्षा, स्वास्थ्य, खेलकुद, विकास, आर्थिक, पर्यटनका हिसाबले प्रदेश सक्षम हुने बताएकी हुन् ।

Advertisement

शिक्षालाई सीपयुक्त बनाउन सकेमा देशले मुहार फेर्ने भन्दै मन्त्री पुन प्रदेश सरकार तनहुँको बेलचौतारामा प्राविधिक विश्वविद्यालय बनाउने तयारीमा रहेको बताइन् ।
गण्डकी प्रदेशमा ५९ सामुदायिक कलेज रहेको जानकारी दिँदै मन्त्री पुनले १ निर्वाचन क्षेत्रमा १ कलेजलाई बजेट कोसेलीको रुपमा मन्त्रालयले विनियोजन गरेको सुनाइन् ।

उनले आगामी वर्षमा सबै कलेजमा शैक्षिक विकासका लागि प्रदेश सरकारले बजेट छुट्याउने बताइन् । सानैमा बिहेवारी र घरको कामका कारण पढ्न नपाएका महिलालाई घर घरमै बसेर पढ्ने व्यवस्था सरकारले गरेको बताउँदै महिला शिक्षा पहिलो शर्तका रुपमा सामाजिक विकास मन्त्रालयले ल्याएको स्पष्ट पारिन् ।

Advertisement

विदेश पढ्न जानेलाई सरकाले रोक्ने बताउँदै मन्त्री पुनले मुटु, मृगौला र क्यान्सरको अस्पताल बनाएर स्वास्थ्यमा फड्को मार्ने दाबी गरिन् ।

बाल तथा महिला अस्पताल बनाउन लागेको बताउँदै मन्त्री पुनले ब्लड प्रेसर, सुगरका रोगीलाई जीवनशैली परिवर्तनको जानकारी नागरिकलाई दिन सरकारले बजेटको व्यवस्था गरेको सुनाइन् ।

नागरिक सचेत हुन सके रोगको निदान आफैं गर्न सकिने भन्दै पखाला लाग्दा अस्पताल जानै नपर्ने धारणा राखिन् । उनले धेरै नागरिकले घरमै बसीबसी स्वस्थ्य बन्ने कार्यक्रम ल्याउने, जडिबुटी प्रशोधन केन्द्र आर्थिक सशक्तीकरणाक लागि सीपयुक्त तालिमका लागि प्रदेश सरकार अघि बढेको बताइन् । खेल विषय र खेल शिक्षकको व्यवस्था गर्न सके अस्पताल आवश्यकता नहुने भएकाले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको राजधानीको रुपमा परिचित गराउने बताइन् ।

उनले अन्तर्राष्ट्रिय रंगशाला, एकेडेमी र मुस्ताङमा हाइ अल्टिच्युट रंगशाला बनाउन प्रदेश सरकारले तयारी गरेको बताइन् । गण्डकी प्रदेशका सदस्य मीनप्रसाद गुरुङले ३ वटा सरकार बनेपछि सिंहदरबार कुर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, नेकपाका देवेन्द्र गुरुङ, नेपाली कांग्रेसका प्रदीप पौडेल, राप्रकाका गणेश ढकाल, गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल, प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुसाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया