पर्यटन ,समाज
उपल्लो मुस्ताङी बेसी झर्दा आन्तरिक पर्यटक कोरला उक्लिए
अत्यधिक जाडोमा समेत लोमान्थाङका होटल हाउसफुल


जोमसोम—बर्खायामको मौसमसंगै हिउँदयामको आगमन भईसकेको छ ।बर्खायामको खेतीबाली थन्क्याएर लाग्ने उपल्लो मुस्ताङको यो सिजनको महत्वपूर्ण चाडपर्व समेत सम्पन्न भईसकेको छ । चाडपर्व सकिएसंगै उपल्लो मुस्ताङी क्रमशः बेसी झर्न थालेका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापा अन्तर्गतका ग्रामिण भेंकका बासिन्दा जाडो छल्न बेसी झरिसकेको जनाईएको छ । तर,उपल्लो मुस्ताङी धमाधम बेसी झर्दै गर्दा जोमसोम ÷कोरला सडकखण्ड अन्तर्गतका पर्यटन ब्यवसायी भने जाडो सहेर होटल संञ्चालन गरी बसेका छन् । अहिले उपल्लो मुस्ताङको तापक्रम माईनस डिग्रीमा छ । उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ र तिजी जस्ता महत्वपूर्ण चाडपर्व सकेर लोमान्थाङ गापाको छोसेर,छोनुप,चुमजुङ,ठिङ्गर,किम्लिङ र लोमान्थाङ गाउका स्थानीय जाडो छल्न बेसी झरिसकेका छन् । यस्तै ,उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा अन्तर्गत,यारा,घारा,ढि,सुर्खाङ,मराङ,चराङ,ढाक्मर ,घमी ,घिलिङ लगायतका स्थानीय पनि जाडो छल्न बेसी झरेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।उपल्लो मुस्ताङका पर्यटन व्यवसायी बाहेक अन्य स्थानीयबासीहरु कार्तिक अगावै जाडो छल्न बेसी झरिसकेको गापा अध्यक्ष बिष्टले बताए ।
बर्सेनि उपल्लो मुस्ताङी खेतीपातीको कामकाज सकेर हिउँदयाम लागेपछि बैकल्पिक घुम्ती ब्यापार व्यवसायमा बेसी झर्ने परम्परा छ । उनीहरु नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतमा गएर घुम्ती ब्यापार गर्ने गर्छन् । हिउँदयामको मंसिर,पुस ,माघ,फागुन र चैत्र महिनासम्म घुम्ती ब्यापार गरेर आफुलाई चाहिने खाद्यान्न,लत्ता कपडा आदीको जोहो गरी बैशाख लागेपछि गाउँ फर्किन्छ ।
पोहोर र गत वर्ष कोरनाले गर्दा गाउँमै थुनिएका उपल्लो मुस्ताङी यसपटक भने कोरना संक्रमण न्युनिकरण हुँदै गईंरहेको,स्थानीय नागरिकले कोभिड खोप लगाईसकेको र जनजिवन समेत सहज बन्दै गएपछि उनीहरु घुम्ती ब्यापारमा निस्किएको अध्यक्ष बिष्टले जानकारी दिए । तर, पोखरा÷काठमान्डौमा निजि घर भएका र कोही आफन्तकोमा बसेर जाडो छल्ने मुस्ताङी भने बेसी झर्ने तयारीमा रहेको उनले बताए । उनले घुम्ती ब्यापार नगर्ने उपल्लो मुस्ताङी भने लामा राखेर पुजापाठ गरी मंसिर लागेपछि बेसी झर्ने गर्छन् । अध्यक्ष बिष्टका अनुसार अहिलेसम्म ७० प्रतिशत उपल्लो मुस्ताङी बेसी झरिसकेको जानकारी दिए ।
उपल्लो मुस्ताङका स्थानीय बासिन्दा जाडो छल्न बेसी झर्दै गर्दा आन्तरिक पर्यटक कोरलाना उक्लिने क्रम बढेको छ । दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वको सेरोफेरोमा आन्तरिक पर्यटकहरु कोरलानाका अवलोकनका लागि उपल्लो मुस्ताङ आउने क्रम बढेको लोमान्थाङ स्थित होटल हिमालयन गेष्ट हाउसका प्रोपाईटर गोम्बो गुरुङले जानकारी दिए । उनका अनुसार कोरलानाका हेर्न उपल्लो मुस्ताङमा दैनिक करिव ७ सय देखि ८ सय सम्म आन्तरिक पर्यटक आउने गरेको बताए ।
उनले भने,‘दशै लगत्तै उपल्लो मुस्ताङमा अकल्पनीय रुपमा आन्तरिक पर्यटन आउन थालेका हुन् । तिहारको दिन केही कम भएकोमा फेरी आन्तरिक पर्यटक ओईरिन थालेका छन् ।हामीलाई पर्यटक उम्काउन भ्याई नभ्याई छ ।’उनले लोमान्थाङका दुई दर्जन होटलहरु आन्तरिक पर्यटकले भरिएको जानकारी दिए ।
उपल्लो मुस्ताङमा मोटरसाईकलको यात्रा गर्दै युवायुवतीहरु कोरलानाका हेर्न जाने गरेको लोमान्थाङका पर्यटन ब्यवसायीहरु बताउँछन् । उत्तरी चिनसंग सीमाना जोडिएको उत्तरी कोरलानाका पछिल्लो समय आन्तरिक पर्यटकको आर्कषक पर्यटकीय गन्तब्य बनेको छ । कोरलाको २४ नम्बर पिल्लर नजिक बसेर फोटो सेसन गर्न युवायुवती लालायित हुने गरेका छन् । भारतीय नाकाबन्दीपछि उत्तरी कोरलानाकाको चर्चा चुलिएको हो । नाका अवलोकन गर्न आन्तरिक पर्यटक राष्ट्रिय झन्डासहित कोरलानाका पुग्ने गरेका छन् ।
उत्तरी कोरलानाकालाई अन्तरदेशीय ब्यापारिक हब बनाउने उद्देश्यले २०७४ सालदेखि सरकारले राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक स्तरोन्नति सुरु गरिएको हो । कोरला सडक स्तरोन्नतिसंगै सडक सञ्जाल सहज हँुदै जान थालेपछि आन्तरिक पर्यटक उपल्लो मुस्ताङ जाने क्रम बढेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । कालिगण्डकी करिडोर अन्तर्गत बेनी—जोमसोम सडकको ६० प्रतिशत र जोमसोम—कोरला सडकको भौतिक प्रगती ९५ प्रतिशत सम्पन्न भईसकेको छ ।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया