मैमत्त मन्त्री मनाङे

केशव शरण २०७८ कार्तिक २७ गते १३:१७

पोखरा ।
मनाङका राजीव गुरुङ वास्तविक नामबाटभन्दा उपनामबाट चिनिन्छन् । गण्डकी प्रदेशको मन्त्री भइसके तर सर्वसाधारणले उनलाई चिन्ने नाम उही दीपक मनाङे हो । काठमाडौंको ठमेलमा गुन्डागर्दी गर्दा उनी दीपक मनाङे नामले चिनिन थालेका हुन् । तर, मन्त्री भइसक्दा पनि उनलाई चिन्ने सजिलो नाम मनाङेमात्रै भएको होइन, उनले आफ्नो पुरानो चरित्रसमेत नछाडेको प्रतीत हुन्छ ।


ज्यान मार्ने उद्योग गरेको मुद्दा सर्वाेच्च अदालतबाट छिनोफानो हुन बाँकी छँदै मनाङेले २०७४ सालको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले आफ्नो उम्मेदवारको मनोनयन फिर्ता लिएर उनलाई समर्थन ग¥यो र चुनाव जितायो ।
फौजदारी अभियोग लागेका उनको उम्मेदवारी दिने योग्यता सोही अभियोगका कारण खारेज हुनुपर्ने थियो । तर त्यसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने हिम्मत भएका व्यक्ति मुलुकभर कोही भएन । २०७४ मंसिरमा चुनाव जिते । मनाङ प्रदेश (ख) बाट गुरुङ १ हजार ४ सय १० मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याएका थिए ।

Advertisement


लुकिछिपी हिँड्दा पनि २०७५ वैशाखमा प्रहरीले पक्राउ ग¥यो । पछि फौजदारी संहिता २०७५ ले गरेको जेलबाहिरै रहेर मुद्दा लड्न सकिने व्यवस्थामा टेकेर अदालतको आदेश आयो र उनी रिहा भए । १० वर्षभन्दा कम सजाय हुने मुद्दामा बाहिर बसेरै मुद्दा लड्न पाउने व्यवस्था फौजदारी संहितामा छ ।


चुनाव जितेर आइसकेपछि पनि आपराधिक पृष्ठभूमि भएकैले मनाङेलाई प्रदेश सभा सदस्यको सपथ खुवाउन सभामुख नेत्रनाथ अधिकारीले केही दिन आनाकानी गरेका थिए । तर एमाले र माओवादी मिलेर बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दबाबपछि ढिला गरी भए पनि उनलाई सभामुखले सपथ खुवाए । त्यसअघि सपथका लागि प्रदेश सभा धाइरहँदा मनाङेले उटपट्याङ अभिव्यक्ति दिएका थिए ।
त्यति बेला उनले भनेका थिए, ‘उनीहरुलाई कानुन थाहा नभएर हो, उनीहरुलाई कानुन नै थाहा छैन्, भोलि आएर म बुझाउँछु, म सिकाउँछु, अलिकति नसिकाई पनि भएन । उनीहरु हावा हावा कुरा सोच्छन्, उनीहरुले बैठक बस्ने कुरा नै होइन, मुख्य न्यायाधिवक्तासँग सल्लाह गरेर सभामुखले निर्णय गर्नुपर्ने विषय हो, उनीहरु सर्वदलीय बैठक राख्छन् ।’ मनाङेले त्यति बेला सभामुख बिरामी भएको हुँदा आफूले केही भन्नै भएन भन्दै न्यायाधिवक्ता विदेशमा पढेर आएकाले नेपालको कानुन थाहा नपाएको बताएका थिए ।

Advertisement


सपथका लागि मनाङेले २०७५ पुस ६ गते प्रदेश सभामा निवेदन गरेका थिए । तर माघ १४ गते उनको सपथ भयो । प्रदेश सभा सदस्य भएपछि मनाङेले १ दिन पनि सभामा बोलेनन् । बरु त्यसको १ वर्षपछि २०७६ साल माघ ७ गते अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष मीलन गुरुङलाई थप्पड हानेर चर्चामा आए । हातपात गरेर पनि उनी निस्फिक्री हिँडिरहेकामात्रै थिएनन्, राष्ट्रिय सभाको निर्वाचनमा मतदानमा पनि सहभागी भएका थिए । माघ ९ गते मतदान सकिएको केही घन्टापछि मात्रै उनलाई कास्की प्रहरीले पक्रेको थियो । केही दिनको हिरासतपछि उनी रिहा भए ।


मनाङेको भाग्य त्यति बेला चम्कियो जति बेला तत्कालीन सत्तारुढ पार्टी नेकपामा विभाजन आयो । एमाले र माओवादी छुट्टाछुट्टै पार्टी भए । संघमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको साथ छाडेको माओवादीले गण्डकी सरकारबाट पनि फिर्ता हुने भएपछि एमाले नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई मन्त्री बनाएर भए पनि सरकार जोगाउने प्रयास गरे ।


तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई बहुमतका लागि आवश्यक ३१ सांसदका निम्ति एमालेका २७, राष्ट्रिय जनमोर्चाका ३ ले मात्रै पुग्दैनथ्यो । स्वतन्त्र दाबी गरेका मनाङे हुँदा ३१ पुग्थ्यो । जब कि मनाङेलाई २०७६ असार १९ मा तत्कालीन नेकपा गण्डकी इन्चार्जसमेत रहेका पृथ्वीसुब्बाले नै पार्टी प्रवेश गराएका थिए ।


त्यति बेला उनी पार्टी प्रवेश गरेको जानकारी नेकपाले प्रदेश सभा र निर्वाचन आयोगमा गराउन भुल्यो । त्यही चर समातेर मनाङेले २०७७ माघदेखि नै आफू स्वतन्त्र प्रदेश सभा सदस्य भन्न थाले । त्यसै अनुसार प्रदेश सभालाई पत्र लेखेर स्वतन्त्र हैसियत पाए ।


१६ वैशाख २०७८ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । सपथपछि भने मनाङले आश्चर्यजनक अभिव्यक्ति दिए । ‘मलाई थाहा छ सरकार १० दिनमा जान सक्छ,’ उनले भनेका थिए । नभन्दै पृथ्वीसुब्बा गुरुङले २६ वैशाखमा राजीनामा दिए । मनाङेसहित सिंगो मन्त्रिमण्डलका सबै मन्त्रीको पद गुम्यो । फेरि संसदको सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतमा पृथ्वीसुब्बा २९ वैशाखमा मुख्यमन्त्री भए । र, जेठ ९ गते मनाङेलाई मन्त्री बनाए । मन्त्री भएकै बखत कांग्रेसले बनाएको गठबन्धनलाई साथ दिने अभिव्यक्ति मनाङेले दिएपछि २७ जेठमा पृथ्वीसुब्बाले उनलाई बर्खास्त गरे । विश्वासको मत पाउन नसकेपछि पृथ्वीसुब्बा पदमुक्त भए । मनाङे विश्वासको मतदानका बेला अनुपस्थित भएका थिए ।


एमाले विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, जनमोर्चा र जसपाले गरेको गठबन्धनलाई मनाङेले साथ दिए । उनको साथले मात्रै त्यो गठबन्धनले संसदमा बहुमत अर्थात ३१ सदस्य पु¥याउन सक्यो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली २९ जेठमा मुख्यमन्त्री हुँदा मनाङेलाई मन्त्री नियुक्त गरे । सुरुमा विना विभागीय मन्त्री नियुक्त उनले मुख्यमन्त्री पोखेरेलसँग भौतिक पूर्वाधार मन्त्रालय दिनुपर्ने माग गरे । तै उनलाई पोखरेलले युवा तथा खेलकुद मन्त्रीमै थम्थम्याए ।


तेस्रो पटक मन्त्री भएपछि र खास गरी आफ्नै १ मतका कारण कांग्रेस गठबन्धन सरकार बनेपछि मनाङेको राजनीतिक आत्मबल बढेको उनका अभिव्यक्तिमा प्रकट हुन्थ्यो । मन्त्रिपरिषद बैठकमा नियमित नजाने, मन्त्रालय जाँदा अनौपचारिक पोसाकमा जाने गर्दै मुख्यमन्त्री पोखरेलको टाउको दुखाइ बन्दै आएका मन्त्री मनाङेको अराजनीतिक चरित्र यो साता फेरि पटाक्षेप भएको छ । घटनाक्रम र अभिव्यक्तिले विवादास्पद बन्दै आएका मन्त्री मनाङले आफ्ना सहयोगी रोनित गुरुङलाई कार्यवहाक एवं प्रवक्ता दिएपछि उनको मैमत्त चरित्र पछिल्लोचोटि उदांगो भएको हो ।
कानुनमा व्यवस्थै नभएको कार्यवहाक एवं प्रवक्ता उनले आफ्ना सहयोगीलाई दिएका हुन् । उक्त जानकारी सञ्चार माध्यममा आएपछि मन्त्री मनाङेले आफूलाई पानीमाथिको ओभानो बनाउने गरी प्रतिक्रिया दिए । मन्त्री मनाङले भनेका छन्, ‘घरमा त त्यसरी बसेको ठिकै हो । तर, मन्त्रालयमा त भएन नि, म बाहिर थिएँ । उसले त्यसो गरेको रहेछ, झाप्पु लगाएर कामबाट निकालिसकें ।’


रोनित मन्त्री मनाङेको सचिवालयमा नियुक्त व्यक्तिसमेत हैनन् । तर आफूलाई मनाङेको सहयोगीका रुपमा पहिल्यैदेखि चिनाउँदै आएका थिए । मनाङेले स्वकीय सचिवमा आफ्नै श्रीमती दिक्छेन लामालाई नियुक्त गरेको मन्त्रालयको रेकर्डमा देखिन्छ । यसअघि मनाङेले श्रीमतीलाई चोरी आरोप लगाएर उनको माइती हेटौंडा पुगेर प्रहरीलाई पक्रन लगाएका थिए । पछि उनी धरौटीमा रिहा भएकी थिइन् ।


उता, मन्त्रीको सहयोगी बताउने रोनितले शुक्रबार आफ्नो फेसबुक खातामा स्टाटस लेख्दै आफूबाट भूल भएको स्वीकारेका छन् । उनले लेखेका छन्, ‘मलाई माननीय मन्त्रीज्यूले प्रवक्ता तथा कार्यबाहक मन्त्रीको कुनै पनि जिम्मेवारी दिनुभएको छैन । समाचारमा आएको जस्तो प्रवक्ता तथा कार्यबाहकको जिम्मेवारीमा म नरहेको सबैलाई जानकारी गराउन चाहन्छु ।

मेरो कुनै गलत नियतका कारण मैले नेम प्लेट राखेको होइन । यो भूलबस भएको सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु । गण्डकी प्रदेशको खेलकुद मन्त्रालयमा आवश्यक पर्याप्त भौतिक संरचना प्राप्त कोठा नभएकाले माननीय मन्त्री राजीव गुरुङज्यूकै कार्यकक्षमा रही काम गर्नुपर्ने बाध्यता रहिआएको छ । त्यस्तै मैले मन्त्रीज्यूकै कार्यकक्षमा गल्तीले नेमप्लेटमै प्रवक्ता उल्लेख गरी बसेकोबारे मैले भूलबस राखेको स्वीकार गर्दछु । तर मैले कार्यवाहक तथा प्रवक्ता भनेर उक्त स्वघोषित पदको कुनै पनि दुरूपयोग नगरेको र खराब नियत नरहेकोसमेत जानकारी गराउँछु ।

मन्त्रीज्यूबाट कुनै किसिमको प्रवक्ता तथा कार्यबाहकको जिम्मेवारी नपाएको हुँदा यसमा मन्त्रीज्यूलाई जोडेर आएका विभिन्न न्युजप्रति गहिरो ध्यानाकर्षण भएको छ । अर्कै प्रयोजनका लागि बनाइएको नेमप्लेट भूलबस कार्यकक्षमा रहन गएको हो । आजैका मितिदेखि भूलसुधार गरिसकेको सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’

केशव शरण

समाधानकर्मी शरण लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिताका उपप्राध्यापक पनि छन् ।

तपाईको प्रतिक्रिया