४६ दिनपछि खोलियो गण्डकी मेडिकल कलेजको ताला

समाधान संवाददाता २०७५ चैत ३ गते ७:५८

समाधान संवाददाता

गण्डकी मेडिकल कलेजको शिक्षण अस्पतालमा ४६ दिनपछि ताला खोलिएको छ । शनिबार प्रहरीलाई राखेर आन्दोलनरत विद्यार्थीले ताला खोलेका हुन् । विद्यार्थीले अस्पतालको आकस्मिक कक्षबाहेकमा ताला लगाएका थिए । विद्यार्थीले प्रहरीको रोहबरमा ताला खोले पनि अस्पताल सञ्चालनमा आएको छैन । गत माघ १८ गतेदेखि ताला लगाइएको थियो । कलेजले बढी शुल्क असुलेको भन्दै विद्यार्थीले आन्दोलनका क्रममा अस्पताल बन्द गराएका थिए ।

कलेज प्रशासन त्रिभुवन विश्वविद्यालयले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता लगायत माग राख्दै विद्यार्थी लगभग डेढ महिनादेखि आन्दोलन गर्दै आएका थिए । आफूहरुको मुद्दा कानुनी प्रक्रियामा अघि बढेको तर आन्दोलन नटुंगिएकोे भन्दै केही समयका लागि आन्दोलन स्थगितमात्र भएको विद्यार्थीले बताएका छन् ।

Advertisement

आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज सञ्चालक र कर्मचारीसहित ११ जनाविरुद्ध ५० करोड रुपैयाँ बराबरको ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएका थिए ।

फागुन २२ गते जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिन कलेजका पूर्व सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परे । अन्य फरार छन् ।

Advertisement

कलेज सञ्चालक खुमा अर्याल पक्राउ पुर्जी खारेज गर्न अन्तरिम आदेश माग्दै दिएको निवेदन विपरीत उच्च अदालतले कानुन बमोजिम कारबाहीको आदेश दिएपछि शुक्रबार विद्यार्थीले कलेज र अस्पतालको ताला खोल्ने सहमति बनेको थियो । तर जिल्ला प्रशासन कार्यालय, विद्यार्थी सहमति भए पनि कलेज प्रशासनको उपस्थिति नभएपछि ताला खोलिएको थिएन ।

एमबिबिएस तेस्रो वर्ष अध्ययनरत विद्यार्थी परिर्वतन भाटले एमबिबिएस दोस्रो वर्षका विद्यार्थीको परीक्षा नजिकिएको कारण ताला खोलेको बताए । ‘परीक्षाका लागि फाराम भर्ने म्याद १० गतेसम्ममात्र छ, उनले भने, ‘हामीले दोस्रो वर्षको परीक्षाको फर्म भरेर परीक्षा दिन पाउनुपर्छ ।’

सोही परीक्षा २१ गतेदेखि सञ्चालमा सुरु हुने विद्यार्थी बताउँछन् । शिक्षा मन्त्रालय, कलेज प्रशासन, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शास्त्र अध्ययन संस्थान, दोस्रो वर्षको फर्म भर्ने वातावरण मिलाउन आग्रह गरेको भाटले बताए ।

आन्दोलनरत विद्यार्थीले शुक्रबार विज्ञप्ति निकाल्दै कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्यालसहित ११ जनालाई फौजदारी अभियोग लागेको भन्दै अन्यलाई नियुक्त गर्न माग राखेका छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धीकरण विभागमा ११ जना सञ्चालकविरुद्ध उजुरी दिएका छन् ।

तपाईको प्रतिक्रिया