फेवा जोगाउन नेपालकै ठूलो गुरुयोजना

समाधान संवाददाता २०७८ मंसिर १ गते ११:५५

पोखरा ।
फेवातालको ४ किल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिले गुरुयोजना अनुसार काम गरे तालको संरक्षण र विकास गर्न सकिने दाबी गरेको छ । समितिले तालको दीर्घकालीन संरक्षण र विकासका लागि २० वर्षे गुरुयोजना अनुसारअघि बढ्न ३ तहको सरकारलाई सिफारिससमेत गरेको छ ।

२ महिना पहिले कार्यकाल सकिएको समितिले तालको संरक्षण तथा विकासको लागि आगामी दिनमा गरिनुपर्ने कार्य सूचिकृत गरी सरकारलाई सिफारिस गरेको निवर्तमान संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए । समितिले समष्ठिगत एकीकृत प्रतिवेदनका अलवा फेवाताल सिमाभित्र परेका कित्ता जग्गाहरुको छानबिन तथा ताल संरक्षणका लागि दीर्घकालीन गुरुयोजनासमेत बनाएको छ ।

समितिले ताल संरक्षण र ताल क्षेत्रको विकास गर्नका लागि परामर्शदाता संस्थाको सहयोगमा गुरुयोजनाको छुट्टै प्रतिवेदन तयार पारेको थियो । ‘फेवातालको गुरुयोजना नेपालको अहिलेसम्मको ठूलो गुरुयोजनाको रुपमा (दोस्रो ठूलो वृहत टुडिँखेल गुरुयोजना) अघि सारेको छ,’ संयोजक पौडेलले भने, ‘समितिले बनाएको गुरुयोजना अनुसार काम गरे तालको संरक्षण र विकास गर्न सकिन्छ ।’

Advertisement

उनले समितिले ताल संरक्षण र विकासका दुबै पक्षलाई उत्तिकै महत्व दिँदै गुरुयोजना लागु गरी सरकारको राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरी गेम चेन्चर परियोजनाको रुपमा अगाडि बढाउनसमेत सरकारलाई सिफारिस गरेको जानकारी दिए ।

पौडेलले गुरुयोजना कार्यान्वयनका लागि ७६ अर्ब ७७ करोड रुपैयाँ लाग्ने जानकारी दिए । गुरुयोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विभाजन गरी कार्यान्वयन गर्नुपर्ने सुझाए । अल्पकालीन कार्यक्रम अन्तर्गत फुटट्रयाक लगायतका संरचना बन्ने छन् । मध्यमकालीन योजना अन्तर्गत फेवा जलाधार क्षेत्रका खोलाको पानीलाई व्यवस्थापन गर्न मिनी तालको परिकल्पना गरिएको छ । जसमा सिल्ट्रेसन ड्याममा जम्मा भएको गेग्रान माटोको व्यवस्थापन गरी मुल तालमा शुद्ध पानी पठाउने योजनासमेत छ ।

Advertisement

दीर्घकालीन योजना अन्तर्गत फेवातालमा मिसिएको ढलको पानी व्यवस्थापनका लागि गैराको चौतारादेखि अन्डरग्राउन्ड रुपमा ढल बनाएर फुस्रेखोलामा पानीको निकास दिनुपर्ने सुझाइएको छ । सो योजनामा जलविद्युत उत्पादनलाई प्राथमिकता दिइएको छ । जलविद्युत उत्पादन गरी पानी नदीपुरमा पु¥याउने र सो पानीलाई फेरि तालमा आउन नदिने महत्वकाक्षीं योजना समेटिएका छन् ।

सेती नदीको पानी सिँचाइको लागि प्रयोग हुन कम भएको अवस्थामा परियोजनामा नहरमा पानी राखेर सफा गर्ने जस्ता कार्यक्रम समेटिएका छन् । गुरुयोजना अनुसार नयाँ सरंचना विकास गर्न ताल वाहेकको ६ सय २४ रोपनी जग्गा आवश्यक पर्छ । धेरैजसो जग्गा सार्वजनिक र थोरै व्यक्तिगत छ । ताल बाहिरको बीचको भागमा होटल, रिसोर्ट खोल्ने नयाँ बस्ती बसाल्ने योजना कार्यक्रममा समेटिएको छ ।

कार्यक्रममा संयोजक पौडेलले समितिले बनाएको गुरुयोजना अनुसार काम गर्न अमेरिकाको बासिङटन डिसीको वाटर एन्ड रिसोर्स म्यानेजमेन्ट अन्तर्राष्ट्रिय पार्टी प्रस्तावना लिएर आएको जानकारी दिए । सो प्रस्तावनामा ३ सय मिलियन खर्च गर्र्ने प्रस्ताव गरिएको छ ।

संयोजक पौडेलले अमेरिका भ्रमणमा जाँदा कम्पनीका डा विपिन कोइराला र पुष्पराज रेग्मीलाई भेटेको बताए । सो कम्पनीले राज्यले स्वीकृति दिए गुरुयोजना अनुसार काम गर्न इच्छा प्रकट गरेको जनाए । कम्पनीले अर्को चुनावपछि बन्ने सरकारको सहमतिमा काम गर्ने प्रतिवद्धता जनाएको उनले उल्लेख गरे । उनले कम्पनीले जलविद्युत उत्पादनदेखि बाढीको पानी शुद्धिकरण, जलाधार क्षेत्रका महत्वपूर्ण काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया