पाेखरा महतगौंडाका फरार टोले गुण्डा छावा पक्राउ

समाधान संवाददाता २०७८ मंसिर १४ गते २१:५८

समाधान संवाददाता
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनामाथि धारिलो हतियार प्रहार गरी फरार २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरज गुरुङ र छावा भनिने सुशील कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले बताए ।


पोखरा महानगरपालिका २० भलाम घर भई पोखरा १७ छोरेपाटन बस्ने १९ वर्षीय सुरज गुरुङलाई कात्तिक २९ गते र पोखरा १७ हनुमानटोल बस्ने २५ वर्षीय छावालाई सोमबार रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट पक्राउ गरेको तिवारीले जानकारी दिए । दुवैमाथि कास्की प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरीउनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत कात्तिक २० गते बिहान देउसीभैलो खेलेर फर्केकालाई छावाको टोलीले आक्रमण गरेको थियो । विशाल घर्ती, विजय तामाङ, चित्रबहादुर गुरुङ र यमसन गुरुङलाई छावाको टोली धारिलो हतियार प्रहार गरी फरार भएको थियो ।आक्रमणमा पर्नेहरु देउसीखेलिसकेर डाँडातिर हावा खाएर घर फकर्ने क्रममा थिए । उनीहरुमाथि महतगौडा चोकमा धारिलो हतियार प्रहर भएको थियो ।


त्यस दिन मोटरसाइकलमा घर फर्केदै गरेका ४ जना र छावा भनेर चिनिने सुशील कार्की र गोरेसहित ५÷६ जनाको जम्काभेट भएको थियो । भेटमा शिष्टाचार हुनै पाएन, अपशब्द वर्षिए । यमसन, विशाल, विजय र चित्रबहादुर त्यस्तो नबोल्न भन्दै थिए । उनीहरुको बोली भुइँमा खस्न नपाउँदै छावाले विजय तामाङमाथि हेल्मेट वर्षाइहाले ।

Advertisement


दुवै टोलीबीच भनाभन र हात हालाहाल चलेको विजयले बताएका थिए । छावाले विजय, यमसन, विशाल र चित्रबहादुरमाथि एक एक गर्दै धारिलो हतियार प्रहार गरेको विजयले बताएका थिए । ‘छावाले पछाडिबाट धारिलो हतियार निकाल्दै हामी चारैजनालाई हान्यो,’ घाइते विजय भन्छन्, ‘सबैजना लडिरहेका थियौं । पछाडिबाट अरु साथीहरु आएको देखेपछि छावासहितको टोली फरार भयो ।’

Advertisement

रगत बग्न थालेपछि बल्ल आफूहरु घाइते भएको थाहा पाएको तामाङ बताउँछन् । छावाको टोलीलाई भने कुनै घाउचोट नलागेको उनले दाबी गरे । घाइते चारै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको थियो । विजयको मेरुदण्डमा समेत गहिरो चोट लागेको थियो ।
चित्रबहादुरको घाँटीमा चोट लागेको थियो । उनी सामान्य उपचारपछि घर फर्किएका थिए । यमसनको ढाडका ९ ठाउँमा धारिलो हतियार रोपिएको थियो ।

तपाईको प्रतिक्रिया