गाउँमै प्राविधिक शिक्षा

समाधान संवाददाता २०७५ पुष २४ गते १४:५९


एसइई उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जाने सोचमा थिइन् तनहुँको घिरिङ गाउँपालिका ३ अर्चलकोटका रुपा गुरुङ । सोही वडाको सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयबाट यसै वर्ष एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने बाध्यता गुरुङलाई हटेको छ । विद्यालयले चालु आर्थिक वर्षदेखि नै सिभिल इन्जिनियरिङ (सवओभरसियर) को पढाई सुरु गरेपछि गुरुङले अब गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययनको अवसर प्राप्त गर्ने भएकी छन् ।

गुरुङले भनिन्, ‘प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।’ उनले घर नजिकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खुशी लागेको बताउँदै अन्यत्र जानुपरेको भए खर्चिलो हुने बताइन् । घिरिङ गाउँपालिका २ कोलडाँडाका ताराबहादुर थापा पनि गाउँमै प्राविधिक विषयको पढाई सुरु भएपछि सजिलो भएको बताउँछन् । उनले भने, ‘बाहिरी जिल्लामा गएर पढ्नुपरेको भए धेरै खर्च हुन्थ्यो । घरमै बसेर पढ्न पाउँदा सजिलो भएको छ ।’ थापाले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता गर्ने भएकोले अन्य विषयभन्दा प्राविधिक शिक्षा रोजेको बताए । विद्यालयले २०७५ असोज महिनामा १८ महिने सिभिल इन्जिनियरिङ (सवओभरसियर) को सम्बन्धन प्राप्त गरेको थियो । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले पुसको २० गतेबाट प्राविधिक शिक्षाको पढाई सुरु भएको जानकारी दिए । उनले भने, ‘प्राविधिक धार तर्फ बढी आवश्यकता देखेर पढाई सुरु गरेका हौं ।’ उनका अनुसार प्राविधिक शिक्षामा २२ जना विद्यार्थी छन् । ४० जनाको कोटा भए पनि सम्बन्धन प्राप्त हुन ढिलाई भएकोले कोटा अनुसारको विद्यार्थी संख्या पु¥याउन नसकिएको उनले बताए । उनले भने, ‘सम्बन्धन पाउन ढिलाई भएकोले विद्यार्थी संख्या पु¥याउन सकेनौं, आगामी वर्ष कोटा अनुसारकै विद्यार्थी संख्या पु¥याउँछौं ।’ विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने मध्ये १४ छात्र र ८ छात्रा छन् । तीमध्ये १७ जनाले सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् भने ५ जना भीमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यार्थी छन् ।

Advertisement

प्रधानाध्यापक थापाका अनुसार २२ जना विद्यार्थी मध्ये ३ जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । १८ महिने कोर्षका लागि ६० हजार रुपैयाँ शुल्क तोकिएको र ५ किस्तामा विद्यार्थीले रकम बुझाउनुपर्ने उनले जानकारी दिए । प्राविधिक शिक्षा अध्यापनका लागि ४ जना शिक्षक छन् । प्राविधिक शिक्षा सञ्चालनका लागि घिरिङ गाउँपालिकाले ५५ लाख सशर्त अनुदान दिएको छ । उक्त रकमबाट प्राविधिक शिक्षाका लागि आवश्यक सामग्रीहरु खरिद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत् २६ लाख रुपैयाँको लागतमा ४ कोठे भवन निर्माण गरिएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले अहिलेको माग र आवश्यकतालाई मध्यनजर गरेर गाउँकै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको प्रयास थालिएको बताए । ‘अहिलेको माग भनेको प्राविधिक शिक्षा नै हो, त्यसैलाई मध्यनजर गरेर गाउँपालिकाले प्राविधिक शिक्षा सुरुआतका लागि आर्थिक सहयोगसमेत गरेको छ,’ उनले भने । अहिलेको शिक्षा प्रणालीका कारण डिग्री उत्तीर्ण भए पनि देशमा रोजगारी नपाएर धेरै युवा विदेशिनु पर्ने बाध्यता रहेकाले प्राविधिक शिक्षाको नेपालमा ठूलो माग रहेको थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया