अतिक्रमित संरचना हटाइने

राकेश शर्मा २०७८ मंसिर १६ गते १२:२८

म्याग्दी ।
पृथ्वीमा मानव अतिक्रमण बढ्दो छ । मानिसले आफ्नो स्वार्थ पूरा गर्न वरपरको वतावरण नष्ट गर्ने र अतिक्रमण गरी संरचना बनाउने क्रम बढ्दै गएको छ । म्याग्दीमा यस्तै अतिक्रमण हटाउन नगरपालिकाले १५ दिन सूचना निकालेको छ । बेनी बजारमा सडक अतिक्रमण बढेपछि नगरपालिकाले यस्तो कदम चाल्न लागेको हो ।

Advertisement


बेनी नगरपालिकामा भएको सरोकारवालाको बैठकले सडकमा आवतजावत प्रभावित हुने गरी बनाइएका संरचना हटाउन बुधबारदेखि लागू हुने गरी ७ दिनको समय दिएको छ । तोकिएको समयभित्र होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीले सडक च्यापेर राखेका होडिङ बोर्ड र छाप्रा नहटाए भत्काउने निर्णय भएको छ ।


पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न पनि बैठकले निर्देशन दिएको छ ।
बेनीबजारको पार्किङ, सवारी आवतजावत, सार्वजनिक स्थल सरसफाइ, सिसी क्यामरा, बिद्युत लगायतलाई व्यवस्थित गर्ने उद्देश्यले छलफल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।

Advertisement


नगर प्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिनको समय दिएको बताए । ‘बेनी बजार सुन्दर बनाउने अभियानमा भएका कमी, कमजोरीलाई नदोहोरिने गरी व्यवसायीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘सो समयमा नहटाए सडकलाई असर गर्ने गरी राखिएका बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ ।’ बेनी बजार क्षेत्र सानो भएका कारण यहाँका अधिकांशले सडक अतिक्रमण गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकायको सहयोगमा हटाउने प्रतिवद्धता जनाएका थिए । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बजार व्यवस्थित बनाउन नगर प्रहरी र सार्वजनिक स्थल सरसफाई गर्ने कुचिकार राख्न आग्रह गरे ।

Advertisement


प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिक स्थलका अस्थायी छाप्रा हटाएर पाकिङ व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया