—व्यवसायमा महिला हिंसा—

ब्युटीपार्लर खोल्दा नक्कली, चियाभन्दा रुपको तारिफ !

समाधान संवाददाता २०७८ मंसिर २१ गते ११:०५

पोखरा ।

पोखरामा ठूला साना इभेन्ट आयोजना गर्नुपरे आजभोलि धेरैले लिन गरेको नाम हो शोभा गौतम । सार्वजनिक सभा, समारोहमा पनि अतिथिका रुपमा उनैलाई डाक्छन् ।

१६ वर्षमै विहे गरेर पराई घर पुगेकी शोभालाई व्यवसायमा जम्न कम्ती चुनौती थिएन । घाटा बेहोर्नुपर्ने जोखिम पनि कम हुने । नाफा पनि अरु व्यवसायभन्दा राम्रो आउने देखेर होटल व्यवसायमा हात हाल्ने विचार गरिन् शोभाले । कम लगानीबाट व्यवसाय सुरु गरेर व्यवसाय बढाउँदै लैजाने योजना बनाइन् । सुरुमा चिया पसलबाट व्यावसायिक यात्रा सुरु गरिन् । सोचेभन्दा बढी नाफा पनि निकालिन् ।

Advertisement

तर, लामो समयसम्म यो व्यवसायमा उनको मन बसेन । ‘चिया पसलबाट कमाईं पनि राम्रो थियो । सबै होइन, चिया पिउन आउने कोही कोही ग्राहकको दृष्टिकोण एकदमै नराम्रो,’ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको व्यवसायमा महिला हिंसा सचेतना कार्यक्रममा आफे अनुभूति बाँड्दै उनले भनिन्, ‘कति राम्री साहुनी भनेर भन्ने ! त्योभन्दा चिया मिठो खुवाउनु भयो भनेर भनेको भए कति खुसी हुन्थेँ होला ।’

पछि यो व्यवसायमा उनको मन बसेन । कमाई राम्रै भए पनि यो व्यवसायमा सन्तुष्टि मिलेन उनलाई । चिया पसल बन्द गरेर ब्युटीपार्लर सिक्न गइन् । त्यहाँ पनि उनले राम्रो प्रतिक्रिया पाइनन् । ब्युटीपार्लरलाई नक्कलीहरुले गर्ने व्यवसाय भनेको सुनिन् । त्यसपछि पार्लरमा पनि उनको मन अडिएन ।

Advertisement

अहिले पोखराको सफल महिला व्यवसायीको रुपमा गनिन्छिन् शोभा । ‘अहिले जहाँ छु, त्यहाँ सम्मान छ । इभेन्ट म्यानेजमेन्टबाहेक अन्य व्यवसायमा पनि मेरो भूमिका छ,’ उनले भनिन् । आफू जस्तै अरु महिला पनि व्यवसायमा अघि आइ दिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । तर, व्यवसायी महिलाको संख्या निकै कम छ ।

टेवानकी संस्थापक अध्यक्ष तथा सफल पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले अधिकार सुनिश्चित गर्न आ–आफ्नो ठाउँबाट लड्नुपर्ने बताइन् । आफ्नो व्यावसायिक जीवनको अनुभूति बाँड्दै उनले परम्परा र संस्कृतिमाथि औंला नउठाई आइपर्ने अवरोध र बाधालाई उजागर गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् । ‘हिसांत्मक घटनाले सम्पत्तिको क्षति हुनु, शारीरिक कमजोरी हुँदा उत्पादकत्व घट्नु, हिंसामा परेका महिलाले लिएको मानसिक चिन्तनले काममा बाधा आउनु सबै व्यवसाय क्षेत्रमा देखिएका महिला हिंसाका उदाहरण हुन्,’ उनले भनिन्, ‘पर्यटनको क्षेत्रमा महिलालाई प्रदर्शन गर्ने प्रवृत्ति मौलाउँदा हिंसात्मक गतिविधिको न्यूनीकरणमा समस्या आएको छ ।’ महिलाको मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको जोड छ ।

अर्की महिला उद्यमी बिन्दु कोइराला सुवेदीले महिलाले आफूमाथि हुने गरेको हिंसा पैतालाले कुल्चेर अघि बढ्न सक्ने बताइन् । महिला आर्थिक कारणले पनि पछि पर्ने गरेको उनको भनाइ छ । महिला पुरुष दुवै उद्यमशील बन्न सके पुरुषमाथिको आर्थिक भार कम हुने साथै आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

कार्यक्रमकी विशेष अतिथि गण्डकी प्रदेशकी सांसदसमेत रहेकी मीना गुरुङले द्वन्द्वकालीन समयदेखि आजसम्म महिला अधिकारका लागि लडिरहेको बताइन् । ‘जबसम्म महिलाको एउटै आवाज हुँदैन, तबसम्म अधिकारबाट बञ्चित भइराख्नुपर्छ,’ उनले भनिन् । महिला अधिकारका कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरणसम्बन्धी कानुन बनाउन आफू अग्रसर रहेको बताए । महिला हिंसा न्यूनीकरणका लागि कानुन निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागिपरेको उनको भनाइ छ ।

टेवान अध्यक्ष रेणु थापामगरले हरेक कुरालाई हिंसासँग जोडेर हेर्न नमिल्ने धारणा राखिन् । ‘यसलाई चुनौतीको रुपमा पनि हेर्नुपर्छ,’ उनले भनिन् । महिलालाई व्यवसायमा स्थापित गर्न लागिरहेको संस्था टेवानको नेतृत्व गरिरहेकी थापाले समस्याले नै महिला निखारिँदै जाने भनाइ राखिन् ।

कार्यक्रममा महिलाले व्यवसायमा भोग्नु परेको हिंसाबारे आफ्नो अनुभवसमेत साटेका थिए । पर्यटन व्यवसायी गणेश भट्टराई, चिरञ्जीवी पोखरेल लगायतले शुभकामना राखेका थिए भने अधिवक्ता तारा शर्माले महिलालाई कानुनी समस्याबारे सुनाएकी थिइन् ।

कार्यक्रम संयोजन व्यवसायी पवित्रा थापामगरले गरेकी थिइन् । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा, ह्युजटन कलेज, नेपाल टुरिजम बोर्ड र इम्पावोरिङ वुमन्स अफ नेपालले कार्यक्रमका लागि सहयोग गरेका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया