हाजिर नपुगेका कारण ३१ विद्यार्थी एसइईबाट वञ्चित

समाधान संवाददाता २०७५ चैत ४ गते ८:४७

रासस

जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा -एसइई- मा सहभागी हुनबाट वञ्चित भएका छन् । 

७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये ५ जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् । 

Advertisement

एसइईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरी कूल २ हजार २ सय ४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताउनुभयो । तीमध्ये २ दृष्टिविहीन विद्यार्थी पनि छन् । 

यसैगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परीक्षाको समयमा महीनावारी हुने छात्राको सहजताका लागि म्याग्दीसहित प्रदेशका २ सय १७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । कूल छात्रा संख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरीद गर्न रकम उपलब्ध गराइएको उक्त मन्त्रालयका अधिकृत विष्णुमाया पौडेलले बताउनुभयो । 

Advertisement

तपाईको प्रतिक्रिया