‘ओमिक्रोनलाई अहिलेकै खोपले काम गर्छ’

समाधान संवाददाता २०७८ मंसिर २३ गते १३:५७

काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वमा हाल उपलब्ध कोभिडविरुद्धको खोप नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध लड्न समक्ष रहेको जनाएको छ । डब्ल्युएचओको यो बयान दक्षिण अफ्रिकाको एउटा ल्याबमा परीक्षणका क्रममा फाइजर खोप ओमिक्रोनसँग लड्न प्रभावकारी देखिएपछि आएको हो ।

Advertisement


‘यस्तो कुनै संकेत प्राप्त भएन कि फाइजर खोपको प्रभाव अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनमा कम देखियो, खोपले सामान प्रभावकारिता देखाएको छ,’ डब्ल्युएचओका डा माइक रयानले भने ।
डा रयानले हाल विश्वमा उपलब्ध खोपहरु गम्भीर बिरामी परेका र अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिडको जुनसुकै भेरिएन्टबाट बचाउन प्रभावकारी साबित भएको दाबी गरे । ‘त्यसैले ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु कम प्रभावकारी सिद्ध हुने सम्भावना छैन,’ उनले भने ।


डा रयानले सुरुआती आँकडाहरुबाट ओमिक्रोनबाट डेल्टा र अन्य भेरिएन्टको तुलनामा कम मानिस संक्रमित भएको देखिएको बताए । ‘यो आँकडाले पनि ओमिक्रोनको जोखिम निकै कम रहेको संकेत गर्छ,’ उनले भने ।


दक्षिण अफ्रिकी रिसर्चको टिममा सहभागी बायरोलोजिस्ट प्रोफेसर एलेक्स सिंगलले भ्याक्सिनबाट सिर्जित एन्टीबडीबाट ओमिक्रोनको बच्ने क्षमता अधुरै रहेको बताए । ‘त्यसैले हाल उपलब्ध खोपहरु ओमिक्रोनविरुद्ध लड्न सक्षम नै छन्,’ उनले भने । सिंगलले कोभिडको यो नयाँ भेरिएन्टविरुद्ध बुस्टर डोज (अतिरिक्त खोप) एउटा महत्वपूर्ण कदम हुन सक्ने पनि अनुसन्धानबाट पत्ता लागेको बताएका छन् ।
दक्षिण अफ्रिकाका मेडिकल रिसर्च काउन्सिलको एचआइभी एड्स र क्षयरोग अनुसन्धान कार्यालयका प्रमुख डाक्टर फरिद अब्दुल्लाहले अस्पताल भर्ना भएका ४२ जना संक्रमितको मिहीन अध्ययन गरेका थिए । तीमध्ये २९ जनालाई श्वासप्रश्वासमा कुनै समस्या थिएन भने १३ जनाले अक्सिजन लिइरहेका थिए । ४२ मध्ये १ जनामात्रै आइसियुमा थिए ।


डाक्टर अब्दुल्लाहले अरू अस्पतालमा नोभेम्बर १४ देखि २९ सम्म भर्ना भएका १ सय ६६ जना बिरामीको पनि अध्ययन गरेका थिए । उनीहरूको औसत अस्पताल बसाइ २.८ दिन देखियो भने मृत्युदर ७ प्रतिशतभन्दा कम थियो । महामारीको १८ महिनामा कोरोना संक्रमितको औसत अस्पताल बसाइ ८.५ दिन थियो । संक्रमितको अस्पताल बसाइ छोट्टिँदा अस्पतालहरूमा भीडभाड कम हुन्छ । प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन धेरै सिकिस्त पार्न खालको नदेखिए पनि यी अध्ययनको नमूना सानो छ र पिअर रिभ्यु हुन पनि बाँकी छ ।

Advertisement


ओमिक्रोन भेरियन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्यांक आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ । नयाँ भेरिअन्टविरुद्ध मोडेर्ना, जोन्सन एन्ड जोन्सन र अन्य खोपहरूले कस्तो काम गर्न सक्छन् भन्ने विषयबारे उल्लेख्य डाटा प्राप्त भइसकेको छैन ।
पहिलोपटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीको ध्यान खिचेको छ । ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ । अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन् ।

तपाईको प्रतिक्रिया