कुश्मा नगरको वेबसाइट तयार

समाधान संवाददाता २०७५ चैत ४ गते ९:०९

समाधान संवाददाता

पर्वतको कुश्मा नगरपालिकाले वेबसाइट सुरु गरेको छ । नगरका सबै जानकारी एउटै माध्यमबाट जानकारी दिने गरी साइट सुरु भएको हो । सूचना प्रविधि अधिकृत राजीव रिमाल र कम्प्युटर इन्जिनियर अनुप अधिकारीसहितको प्राविधिक टोलीले करिब ३ महिना लगाएर वेबपोर्टल तयार गरेका हुन् । उनीहरुले तयार पारेको पोर्टललाई वडा नम्बर ७ बाट परीक्षणका रुपमा प्रयोग गरिएको थियो ।

उक्त वडामा परीक्षणपछि अहिले कुश्माका १४ वटै वडामा प्रयोग गरिने भएको छ । आइतबार पोर्टल सार्वजनिक गर्दै प्राविधिकले अब कुनै नगरबासी पनि सार्वजनिक सूचना, विकास निर्माण र अवसरबाट बञ्चित हुनुनपर्ने बताए ।

Advertisement

सूचना प्रविधि अधिकृत राजीव रिमालले भन्ने, ‘निकै जुक्ति लगाएर बनाएको साइट हो । यसले प्रविधिमैत्री शासन सञ्चालनमा सहयोग पुग्ने अपेक्षा छ ।’ नगरपालिकाले प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्ने सिलसिलामा पोर्टल प्रयोगमा ल्याएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘अहिले सबैको हातमा मोबाइल छ, घरघरमा इन्टरनेट सुविधा छ,’ जोशीले भने, ‘नगरले गर्ने हरेक काम र नगरबासीहरुको हरेक अवस्था क्षणभरमै थाहा पाउन पोर्टल प्रभावकारी हुन्छ ।’ नगरबासीका आवश्यकता, समस्या, रोजगारी र बेरोजगारी समस्या, उत्पादन लगायत सबै विषय समेटिने उनले बताए ।

अब नगरबासीले उत्पादन गरेका कृषि, हस्तकला तथा ससाना उद्योगका उत्पादनको बजारीकरण र आवश्यकताका सामग्री खोज्ने काम पनि वेबसाइटबाटै गर्न मिल्ने नगरपालिकाले जनाएको छ ।

Advertisement

३४० वटा विषय पोर्टलमा समावेश छन् । ‘हरेक इन्डेस्कका लागि छुट्टाछुट्टै स्पेस छ,’ कम्प्युटर इन्जिनियर अनुप अधिकारीले भने, ‘नया“ विषय थप भए स्पेस पनि बढाउन सकिन्छ ।’ यो पोर्टलका कारण कागजपत्रमा राख्नुपर्ने दस्तावेज विस्थापित हुने वडा नम्बर ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताए । नगरका सबैजसो बासिन्दाले स्मार्ट मोबाइल चलाउने भएकाले उनिहरुको मोबाइलमा यो सुविधा सहजै उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया