सिविन नेपाल

‘साइबर अपराधबाट बालबालिकालाई जोगाऔं’

सञ्जय रानाभाट २०७८ पुष २ गते १०:३४

पोखरा ।
सामाजिक सञ्जालका प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै छन् । फेसबुक, भाइबर, टिकटक, ट्विटर जस्ता सामाजिक सञ्जालबाट सजिलै कुरा गर्ने सक्ने प्रविधिको विकाससँगै प्रयोगकर्ता बढ्दै गएका हुन् । पछिल्लो समय इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् ।


नेपाल बाल मजदूर सरोकार केन्द्र (सिबिन नेपाल)ले गरेको अध्ययन अनुसार इन्टरनेट प्रयोगसँगै दुरुपयोग पनि बढ्दो छ । समाजिक सञ्जालको प्रयोगबाटै कात्तिकसम्ममा गण्डकी प्रदेशमा ३ सय ३८ अनलाइन यौन दुव्यवहारका निवेदन दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।


त्यसमध्ये दुव्र्यवहारमा पर्नेमा बालकभन्दा बालिका धेरै छन् । गण्डकी प्रदेशमा १४ वर्षभन्दा तलका ११ बालिका र ४ बालक यौन दुव्र्यवहारमा परेका छन् । गत वर्ष देशैभरी १ हजार ७ सय १४ बालबालिका यौन शोषणको शिकार भएको सिविन नेपाललका व्यवस्थापक माधव लोहनीले जानकारी दिए । त्यसमा ९ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरी रहेको भएको लोहनी बताउँछन् । भन्छन्, ‘किशोर किशोरीबीच भएको अध्ययन अनुसार १९.८ प्रतिशतले अनिच्छित अनलाइन यौन शोषण भोगेका छन् ।’

Advertisement


अनलाइनमा बालबालिकामाथि हुने गरेका यस्तो यौनशोषणको विषय चुनौतिपूर्ण बन्दै गएको उनले बताए । ‘सामाजिक सञ्जाल प्रयोग गरी बालबालिका तथा किशोरकिशोरीलाई ललाइफकाइ शारीरिक अंग देखाउन लगाउने, फोटो खिच्ने, भिडियो बनाउने अनि ब्ल्याकमेलिङ बढ्दो छ,’ उनले भने, ‘यौन शोषणमा परेका बालबालिकामा ठूलो मात्रामा मानसिक समस्या देखिएको छ ।’ यौन शोषणमा परेका बालबालिकाले तनावकै कारण पढाइमा ध्यान दिन नसक्ने, विद्यालय छाड्ने आत्महत्या गर्ने वा आत्महत्या प्रयास गर्ने गरेका छन् ।


कोभिड १९ महामारीकापछि प्रविधिको पहुँच दुरुपयोग गरी यस्ता घटना झनै बढ्दै गएको लोहनी बताउँछन् । ‘लकडाउन र त्यसपछिको लामो समय बालबालिका घरमै रहेर अनलाइनबाट शिक्षा लिने, साथीहरुसँग भेट्ने, खेल खेल्ने गर्न थाले । मनका कुरा अभिव्यक्त गर्न अनलाइनको प्रयोग बढ्यो,’ लोहनी सुनाउँछन् । यसरी अनलाइनमा बालबालिकामाथि कुनै घटना भइहाले पीडकलाई कानुनको दायरामा ल्याउनसमेत कठिन भएको उनले सुनाए । भन्छन्, ‘नेपालमा बाल अधिकारसम्बन्धी महासन्धी १९८९, विद्युतीय कारोबार एने २०६३, बालबालिकासम्बन्धी ऐन २०७५ लगायत केही कानुनी व्यवस्था छन्, जुन यसका लागि त्यति प्रभावकारी भएनन् ।’

Advertisement


विभिन्न संघ, संस्थाका प्रतिनिधिले बालबालिकालाई अनलाइन दुव्र्यव्यहारबाट सुरक्षित बनाउन आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव र पोखरा महानगरपालिकामा सिविन नेपालले सामाजिक सञ्जालबाट हुने यौन शोषण राख्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।


ज्ञापनपत्रमा बालबालिका संरक्षणको अभियान तथा नीति निर्माण गर्दा किशोर किशोरीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, अनलाइनमार्फत हुने यौनजन्य हिंसासम्बन्धी पाठ्यसामग्री निर्माण, शिक्षक र अभिभावकलाई समेत प्रशिक्षित गर्नुपर्ने, प्रहरी–समुदाय साझेदारीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।


साइबर अपराध हेर्ने ब्युरो प्रदेश तहमा विस्तार गरी विशेष युनिट बनाउन पनि माग गरिएको छ । यौन हिंसा सम्बोधन गर्न यथाशीघ्र संघीय, प्रादेशिक तथा स्थानीय तहमा यो विषयमा छुट्टै कानुन बनाएर पीडकलाई काननको दायरामा ल्याउनसमेत ध्यानाकर्षण गराइएको छ । अनलाइनबाट यौन हिंसामा परेका बालबालिकालाई उचित परामर्श दिन मरोपरामर्शदातासँग सहकार्य गर्न र यसका लागि उचित नीति, कार्यक्रम र संरचनाका लागि लगानी गर्न पनि सिविनले माग गरेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया