जेसीजलाई हँसिलाे हिमालकाे स्वागत

अभिषेश अधिकारी २०७८ पुष २ गते १०:३९

अभिषेक अधिकारी
पोखरा ।
विन्ध्यवासिनी मन्दिर, बौद्ध गुम्बा र नेपाली परम्परागत शैलीको मौलिक घर एकै ठाउँमा छन् । तिनको पृष्ठभूमिमा हिमाल । अन्नपूर्ण हिमशृंखलाका हिमालहरु बिहानैदेखि छर्लंग खुलेका थिए । स्वागतद्वारबाट प्रवेश गरेपछि जसै मन्दिर, गुम्बा र घर देखिन्थ्यो, हिमाल त प्राकृतिक रुपमै खुलेका थिए ।

Advertisement


नेपाल जेसीजको ४८ औं महाधिवेशन आयोजना गरिएको पोखरा प्रदर्शनी केन्द्रमा आएका पाहुनाले पोखराको सांस्कृतिक र प्राकृतिक छटाको स्वाद एकै ठाउँबाट लिन पाए । महाधिवेशन स्थललाई पोखराको मौलिकतासँग जोडेर सजाइएको जो थियो । अचेल हिमाल छर्लंग देखिनु पनि दुर्लभ—दुर्लभ हुन थाल्दा देशभरिका जेसीज भएकै दिन खुल्दा भने उनीहरुकै स्वागत निम्ति हिमाल हाँसेको प्रतीत भएको थियो ।


बाराको कलैयाबाट आएका सुरज गिरीले फेस्टिभलका रुपमा मनाउने अधिवेशन पोखरामा आयोजना हुँदा निकै खुसी लागेको सुनाए । ‘पोखराबाट पाएको मायाबाट खुसी छौं,’ उनले भने । पोखरा जेसीजले यहाँको पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्यसाथ महाधिवेशन आयोजना गरेको हो । आयोजक संस्थाले महाधिवेशनका प्रतिनिधिलाई यहाँका केही पर्यटकीय प्रडक्टको स्वाद चखाउने कार्यतालिका पनि बनाएको छ । आयोजक शाखाका मीनराज खड्का भन्छन्, ‘हरेक दिन कार्यक्रम सुरु हुनुअघि र अन्त्यपछि समयलाई सदुपयोग गर्दै महाधिवेशन प्रतिनिधि जेसिजहरुलाई पर्यटकीयस्थल घुमाउने छौं ।’


जेसीजकै अधिवेशनको छेको पारी प्रदर्शनी केन्द्र परिसरमा कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटको प्रवद्र्धन गर्न याङ्जाकोटबासी आइपुगेका छन् । गुरुङ पोसाकमा सहभागी याङ्जाकोटेले गाउँको होमस्टे, कोट मन्दिर, जलजले, दरबारडाँडा, छापाडाँडा र संस्कृतिको प्रचार गरेका छन् । पोखराबाट २५ किमि पूर्वाेत्तरको याङ्जाकोटमा यातायातका साधन प्रयोग गरी वा पैदलै (ट्रेकिङ) पनि पुग्न सकिने याङ्जाकोट होमस्टेका अध्यक्ष रोशन गुरुङले बताए ।
महाधिवेशनस्थलमा यार्सागुम्बा ह्विस्कीको स्टल पनि छ । यार्सागुम्बा ह्विस्कीका ईश्वर अग्रवाल भन्छन्, ‘यसलाई यार्सागुम्बाबाट नै एक्स्ट्र्याक्ट गरी तयार गरिएको छ । सीमित मात्रामा यसको सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ ।’ महाधिवेशन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गरेका थिए । कार्यक्रम अवधिभर उनले स्वास्थ्य मापदण्ड पालना गर्दै मास्क लगाइरहे । विभिन्न जिल्लाबाट आएका जेसीजले मुख्यमन्त्रीले एकपटक पनि मास्क नखोलेको र स्वास्थ्य मापदण्ड पालना गरेको भन्दै तारिफ गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया