४ खेलमा ३ हजार प्रतिस्पर्धी

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट सुरु भएको छ । ‘स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको बिहीबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले सुरुआत गरे ।
प्रतियोगिता ११ गतेसम्म पोखरा रंगशालामा चल्नेछ । कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताले युवा खेलाडीको उत्पादनमा टेवा पुग्ने बताए । प्रदेशको खेलकुद विकासका लागि हिसानसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै सदस्य सचिव गुरुङले खेलकुदका माध्यमबाट दिगो विकास लक्ष्य हासिल गर्नेसँगै आर्थिक लक्ष्य प्राप्तिका लागि खेलकुदको विकास अपरिहार्य हुने जनाए ।
प्रतियोगिताका संयोजक डा. रामजी शर्माले हिसान स्पोर्टस् मिटको राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने, ‘नेपालका ७७ जिल्लामध्ये हिसान कास्कीले आफ्नो स्पोर्टस मिट कार्यक्रमलाई निरन्तरता दिएको छ । यो संस्करणसम्म आइपुग्दा धेरै खेलाडीको उदय भएको छ ।’ शिक्षासँगै खेलकुदको माध्यमबाट स्वस्थ्य, सबल, सक्षम र गतिशील समाजको निर्माणका लागि हिसान स्पोर्टस मिटअघि बढेको बताउँदै उनले यस प्रतियोगिताले समग्र खेलकुद विकासमा टेवा पुगेको सुनाए ।
हिसान कास्की अध्यक्ष याम बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ, हिसान उपाध्यक्ष दिवाकर जैशी, सचिव ढाकाराम कँडेल लगायतले स्पोर्टस मिटले विद्यार्थीमा अध्ययनसँगै खेलकुदको सहभागिताले सक्षम र गतिशील नागरिक उत्पादनमा भूमिका खेल्ने बताए ।
१४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी ४ इभेन्टमा ३ हजार विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार चार वटै इभेन्टका खेल भएका छन् । जसमध्ये ११ र १२ कक्षातर्फ छात्र÷छात्रा भलिबलका १५ खेल भएको भलिबलका संयोजक खिम गुरुङले जनाए ।
छात्र भलिवलतर्फ न्यु ग्यालेक्सी, स्पाइरल ग्यालेक्सी, त्रिवेणी, केफ, रेन्बो, डायमन्ड, युनिभर्सल र प्रतिभा मावि पहिलो चरणमा विजेता बनेका छन् । त्यस्तै, छात्रातर्फ भएका ७ खेलमा पोखरा मल्टी मोडल, माउन्ट अन्नपूर्ण, हिल पोइन्ट, न्यु ग्यालेक्सी, टप्स, पोखरा युनाइटेड एकेडेमी र कास्की मोर्डनाइज्ड एकडेमी विजयी भएका छन् ।
यता, टेबलटेनिस विश्वविद्यालयतर्फ छात्र÷छात्राका गरी २१ खेल भएका छन् भने ११÷१२ कक्षा सिंगल्सतर्फ छात्रा ३५ र छात्र ३२ गरी पहिलो चरणका ६७ खेल भएको उक्त प्रतियोगिता संयोजक पुरन कुँवरले जानकारी दिएका छन् ।
छात्र÷छात्रा ब्याडमिन्टनतर्फ प्लस टु लेभल छात्र÷छात्रा सिंगल्समा १ सय ५ खेल भएको संयोजक टीकाराम पगेनीले जनाएका छन् । प्रतियोगितामा बास्केटबल प्लस टुतर्फ छात्रतर्फ मात्र खेल भएका छन् । पहिलो चरणमा पोखरा सेकेन्डरी, कास्की मोर्डनाइज्ड, बाल कल्याण, न्यु लाइट, लिटिल स्टेप, टप्स, पश्चिमाञ्चल, सगरमाथा, प्रतिभा, स्टेप वाइ स्टेप, भाष्कर मेमोरियल, न्यु ग्यालेक्सी, माउन्ट अन्नपूर्ण, मनकामना, केफ, रेन्बो एकेडेमिक दोस्रो चरणमा प्रवेश गरेका बास्केबल संयोजक पुष्पराज पराजुलीले बताए ।
प्रतियोगितामा बास्केटबलतर्फ कक्षा ११÷१२ (प्लस टु) तर्फ छात्र ३४ र छात्र १५ विद्यालयको सहभागिता छ भने विश्वविद्यालयतर्फ ६ टिमको सहभागिता छ । यसैगरी भलिबलतर्फ कक्षा ११÷१२ (प्लस टु) तर्फ छात्र ३२ र छात्रा १५ टिमको सहभागिता छ भने टेबलटेनिसतर्फ छात्र÷छात्रा ४९ विद्यालय तथा विश्वविद्यालयतर्फ १२ टिमको सहभागिता छ । प्रतियोगितामा ४९ विद्यालयका करिब ३ हजार विद्यार्थीको सहभागिता रहेको र करिब ८ हजार विद्यार्थी परोक्षरुपमा सहभागिता रहने प्रतियोगिताका संयोजक डा. रामजी शर्माले जनाएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी ७१ शैक्षिक संस्था आवद्ध छन् ।
तपाईको प्रतिक्रिया