लाइसेन्सबिनै यात्रु उडाउने प्यारापाइलट प्रहरी नियन्त्रणमा

समाधान संवाददाता
बिना लाइसेन्स यात्रुसहित प्याराग्लाइडिङ गरेको आरोपमा प्रहरीले आइतबार ८ जनालाई नियन्त्रणमा लिएको छ ।
हरिप्रसाद भण्डारी, जीवन क्षेत्री, विशाल लामा, पवन शर्मा, नवीन परियार, कमल तिमिल्सिना, रामबहादुर तामाङ र दीपक पहारीलाई प्रहरीले खपौदी, पामे र चंखपुर लगायत क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
लाइसेन्स साथमा नभएका र यात्रुसहितको उडान भर्ने ८ जनालाई नियन्त्रणमा लिएर छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए । अनुसन्धान भइरहेको र दोषी पाइए कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने डिएसपी शाहले बताए । बैदाम प्रहरीले बुद्ध प्याराग्लाइडिङ कम्पनीका महेन्द्रबहादुर भट्टराईको जिम्मा लगाई ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्ने गरी सोही दिन नै छाडेको थियो ।
स्रोतका अनुसार ८ जनाले बिनालाइसेन्स विभिन्न कम्पनीमार्फत अवैध उडान विगतदेखि नै गर्दै आइरहेका हुन् । स्पष्ट कानुनको अभावमा प्रहरीले ती बिनालाइसेन्सका पाइलटलाई कारबाही गर्न सकेको छैन ।
लाइसेन्स लिएका वैधानिक प्यारापाइलटलाई महँगो शुल्क तिर्न अससमर्थ हुँदा यस्तो समस्या आएको जानकारहरु बताउँछन् । अस्वस्थ्य प्रतिस्पर्धाका कारण गैरप्यारापाइलटलाई न्यूनतम शुल्कमा सम्झौता गरी यात्रु उडाउन दिनु गैरकानुनी हो । प्याराग्लाइडिङ स्कुलबाट ट्रेनिङ लिएर लाइसेन्सको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने फ्लाइटका लागि कम्पनीले त्यस्ता सिकारु पाइलटलाई उडान भर्न दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) अन्तर्गतको फ्लाइट सेफ्टी स्टान्डर्डस् विभागले दर्ता भएका र सञ्चालनमा रहेको प्याराग्लाइडिङ कम्पनीलाई नियमन गर्छ । ठोस कानुनको अभावमा विभागले गर्ने कारबाही फिलतो भएको क्यान पोखरा शाखाका सूचना अधिकारी काशीनाथ पौडेल बताउँछन् ।
‘प्राधिकरणले प्याराग्लाइडिङ कम्पनीहरुलाई नियमन गर्न समयसमयमा अनुगमन गर्ने गरेको छ,’ उनले भने, ‘अनुगमनमा बिनालाइसेन्सका पाइलटले समेत यात्रु लएर उडाउन खोज्ने, तोकिएका क्षेत्रबाहेक अन्यत्र स्थानबाट उडान गर्न खोज्ने, विदेशी पाइटल जसले सोलो उडान अनुमति लिएका छन्, उनीहरुले समेत जथाभावी उडान गर्ने पायौं ।’ पर्याप्त जनशक्तिको अभावमा नियमित अनुगमन गर्न सम्भव नभएकाले प्याराग्लाइडिङ कम्पनीलाई उचित नियमन हुन नसकेको उनले बताए ।
यसअघिका केही प्रतिनिधि घटनामा ५ देखि २५ हजारसम्म जरिवाना गरी छाडिएको शाखाले जनाएको छ । तर हालसम्म फर्जी प्यारापाइलटद्वारा यात्रुसहित उडान गराउने कम्पनीलाई कारबाही गरिएको रेकर्ड छैन । प्याराग्लाइडिङ कम्पनीमा देखिएको यस्तै समस्याबारे क्यान पोखरा शाखाका निर्देशक भोलाप्रसाद गुरागाई काठमाडौंस्थित फ्लाइट सेफ्टी स्टान्डर्डस् विभागसँगको निरन्तर छलफलमा रहेको पौडेलले जानकारी दिए ।
विभागले नेपालमा दर्ता सञ्चालनमा भएका सम्पूर्ण प्याराग्लाइडिङ कम्पनीलाई ०७५ जेठ ९ गते गरेको परिपत्र अनुसार सरकारले तोकेको सर्त बेगर उडान गरे पाइलटको लाइसेन्स खारेजीदेखि कम्पनीको इजाजतपत्र समेत रद्द गर्न सकिने कारबाहीको व्यहोरा उल्लेख छ । कम्पनीको सञ्चालन प्रमाण पत्र वैधता नरहेको अवस्थामा व्यावसायिक उडान गरेको पाइएमा प्रचलित फौजदारी कानुन अन्तर्गत सञ्चालक तथा पाइलटहरुलाई कारबाही हुने व्यवस्था छ ।
फर्जी पाइलट राखेर गैरकानुनी काम गर्ने कम्पनीलाई आफूहरुमार्फत कारबाहीका लागि सिफारिस गर्न सकिने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष योगेश भट्टराईले बताए ।
कास्कीमा पोखरा १८ स्थित सराङकोट, तोरीपानी र मान्द्रेढुंगा क्षेत्रबाट व्यावसायिक तथा एकल उडानका लागि अनुमति छ । सराङकोटबाट उडान अनुमति पाएका कम्पनीले खपौदीमा ल्याण्डिङ गर्नुपर्ने हुन्छ । तोरीपानीबाट अनुमति लिएका कम्पनीले चंखपुरमा ल्यान्डिङ गर्नुपर्ने हुन्छ । मान्द्रेढुंगा क्षेत्रबाट उडान अनुमति लिने कम्पनीले पामेमा अवतरण गर्नुपर्ने नियम सहित प्राधिकरणले सबै क्षेत्रको एयर स्पेस तोकेको छ ।
तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रबाट उडान अवतरण गर्न अनिर्वाय रुपमा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अधिकांश कम्पनीले प्राधिकरणको नियमलाई लत्याउँदै आएका छन् । मान्द्रेढुंगा र तोरीपानीबाट उडान अनुमति पाएका कम्पनीले समेत सराङकोट क्षेत्र नजिकै पर्ने भएको हुँदा त्यहीँबाट उडान गर्ने गरेको पाइन्छ ।
पोखरा १९ स्थित घार्मी माथि ढिकीडाँडाबाट क्यानको अनुमति लिएर उडान हुने गरेको छ । सो क्षेत्रबाट अत्यन्तै कमसंख्यामा मात्रै उडान हुने गरेको क्यानका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया