उम्मेदवारीमा भागबन्डा ३ पदका लागि ३ दलका ६ उम्मेदवार

सञ्जय रानाभाट २०७८ पुष २१ गते १९:२६

सञ्जय रानाभाट
पोखरा ।
आगामी माघ १२ मा हुने राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा ६ जनाको उम्मेदवारी परेको छ । गण्डकीबाट रिक्त ३ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोग गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले बताए ।


प्रमुख प्रतिपक्ष दल एमाले एक्लैले ३ जना उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनका दलहरुले भने उम्मेदवारीमा भागबन्डा गरेका छन् । कांग्रेसबाट १ जना र माओवादीबाट २ जनाको उम्मेदवारी परेको हो । एमालेबाट कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुनकुमार सुनामले मंगलबार बिहानै ११ बजे मनोनयन दर्ता गराए । पौडेल अन्य, थनेत महिला र सुनाम दलित क्लस्टरका उम्मेदवार हुन् ।


माओवादीका भुवन सुनार र सुरेश आलेमगरसहित कांग्रेस नेतृ कमला पन्तले मंगलबार अपराह्न ३ बजे मनोनयन दर्ता गराए । महिला क्लस्टरमा पन्त, दलितमा सुनार र अन्यमा आलेमगरको उम्मेदवारी परेको हो । उनीहरु कांग्रेस र माओवादी नेताहरुको टोलीसहित उम्मेदवारी दर्ताका लागि अपराह्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

Advertisement


चुनावमा गठबन्धन सरकारको हार र एमालेको जित हुने एमालेका उम्मेदवार पुण्यप्रसाद पौडेलले बताए । मनोनयन दर्तापछि बोल्दै उनले भने, ‘प्रदेशदेखि संघसम्म गठबन्धन सरकार भएपनि कसैलाई कसैले मन पराउँदैनन । आफ्नै उम्मेदवार छैनन् । यस कारण चुनाव एमाले उम्मेदवारले जित्छौं ।’


कांग्रेस उम्मेदवार कमला पन्तले देशमा समस्या आउँदा २००७ देखि गठबन्धन गर्दै सरकार चलाएको बताइन् । ‘हामी एउटा पार्टीमात्र हैन, सबैले मिलेर समस्याको समाधान गरिरहेका छौैं । अहिले मुलुकको संविधान समाप्त हुन लागेको अवस्थामा गठबन्धन गरेर अगाडि बढेका हौं । यिनै पार्टी मिलेर राष्ट्रिय सभा चुनावमा लडेका हौं,’ उनले भनिन् । जितेर गए लोकतन्त्रलाई संस्थागत गर्ने, मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्नुका साथै जनताको आर्थिक अवस्थालाई समृद्ध बनाउने उनले बताइन् । ‘जनताको आर्थिक स्थितिलाई कसरी माथि उठाउन सकिन्छ । भन्ने नै हामी रणनीति बनाउँछौं,’ उनले भनिन्,

Advertisement


जिम्मेवारी दिए देश र जनताको हितका लागि इमान्दारीपूर्वक काम गर्ने माओवादी उम्मेदवार सुरेश आले मगरले बताए । माओवदी उम्मेदवार भएका भुवन सुनार विद्यार्थीकालमा स्ववियु सभापति हुँदै राष्ट्रिय दलित आयोगको सदस्य सचिव भए पनि पहिलोपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवारी भएको बताए । ‘पहिलोपटक मलाई पार्टीले राष्ट्रिय सभाको सदस्यमा उम्मेदवार बनाएको छ । राष्ट्रिय सभामा आउनु मेरो सपना होइन, उत्पीडित जनताको मुक्तिका लागि हो । ४०÷४२ औं वर्षसम्म लडिरहेँ उमेरले ६४÷६५ लागँे । बाँकी जीवन समुदायको हितमा व्यतित गर्ने हो,’ उनले भने ।


यसअघि गण्डकीबाट निर्वाचित माओवादीका दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एसकी शान्तिकुमारी अधिकारीको राष्ट्रिय सभाको सदस्यको पदावधि सकिँदैछ । उनीहरुसहित राष्ट्रिय सभामा १९ जनाको पदावधि सकिँदैछ ।


राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । देशभरका ७ सय ५३ स्थानीय तहबाट १ हजार ५ सय ६ र सात प्रदेशबाट ५ सय ५० प्रदेशसभा सदस्यले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउँछन् । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । एमाले २७ प्रदेश सभा संसद छन् । यसरी हेर्दा एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ । स्थानीयतहमा एमालेको ७० जनाप्रतिनिधि छन् । जस्को मतभार १ हजार २ सय ६० छ । कांग्रेसका १५ प्रदेश सभा सदस्य छन् । यसरी कांग्रेससँग ७ सय २० मतभार छ । स्थानीय तहमा कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ । प्रदेशसभामा माओवादीका १२ सदस्य छन् । जसको ५ सय ७६ मतभार हुन्छ । स्थानीय तहमा १२ जना जनप्रतिनिधि मतदाता रहेका माओवादीको मतभार २ सय १६ छ । जसपा २, जनमोर्चा २ छन् । जस्को जनमोर्चा र जनता समाजवादीसँग ९६÷९६ मतभार छ । जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ ।


प्रदेश सभामा स्वतन्त्र सांसद दीपक मनाङेका छन् । जनप्रतिनिधि ५ जना प्रमुख तथा उपप्रमुख छन् । यिनीहरुले अहिलेसम्म कसलाई मतदान गर्नेसम्म खुलेको छैन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रदेशमा १ उपप्रमुख छन् । राप्रपाले कसलाई मतदान गर्ने खुलाएका छैनन् । सत्तारुढ दलको भागबन्डामा नेकपा एसलाई गण्डकीमा उम्मेदवार परेको छैन । एसका प्रदेशमा सांसद छैनन् । गाउँपालिकामा पनि एकजनामात्रै उपाध्यक्ष एसमा छिन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया