समीपले ल्याए अक्षर अक्षरमा देश

समाधान संवाददाता २०७८ माघ १ गते १९:३६

समाधान संवाददाता
पोखरा, १ माघ
कवि तथा गजलकारका रुपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन् । समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे ।


साहित्यकार समीपले झन्डै २ दसकअघि भूगोलमा नोकोरिएको देश कृति ल्याएका थिए । कृति विमोचनपछि साहित्यकार सरुभक्तले गजलकारका रुपमा सशक्त उपस्थिति जनाइरहेका समीपको मुक्तककारका रुपमा भएको उपस्थिति आफूहरुका लागि पनि सन्तोषको कुरा भएको बताए । कवि तीर्थ श्रेष्ठले मुक्तकको साधना लामो कविता लेख्नुभन्दा कठिन हुने सुनाए ।


श्रेष्ठले २०३४÷३५ सालतिर पोखरेली युवा सांस्कृतिक परिवारले हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक कार्यक्रम गरेको सम्झना गरे । उनले भने, ‘उनका मुक्तक सुनेरै हामीले मुक्तक कसरी लेख्ने र कसरी वाचन गर्ने भन्ने कुरा सिक्यौं ।’ कवि श्रेष्ठले मुक्तक लेखन सिन्धुलाई बिन्दुमा अटाउनु जत्तिकै कठिन कार्य भएको विचार राखे । ‘मुक्तक लेख्नु भनेको चौतारीमा बसेर गफ गरेजस्तो होइन,’ उनले भने, ‘छोटो लेख्नु भनेको कठिन कुरा हो ।’

Advertisement


कृतिमाथि समीक्षा गर्दै नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलले समीपका मुक्तकमा खास गरी ५ थरी विषय समेटिएको जानकारी दिए । उनले मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद समीपको मुक्तकका विशेषता रहेको सुनाए । ‘वर्तमान राजनीतिक परिदृश्यप्रति व्यङ्ग्य उनका मुक्तकमा छ,’ पौडेलले भने, ‘नेता नांगै सत्ताको भ¥याङ चढ्छ र मुक्तककार ठाउँको ठाउँको विद्रोह बोल्छन् ।’ पौडेलले मुक्तककार समीपले यथार्थको परिदृश्यमात्रै नदेखाई खबरदारी पनि गरेको सुनाए ।


‘उनले मुक्तकको धर्म पूरा बुझेका छन्,’ पौडेलले भने, ‘भाव र संरचनाको गठजोडले मात्रै मुक्तक सशक्त हुन्छ भन्नेमा समीप सचेत छन् ।’ पौडेलले समीपका मुक्तकमा कौतुहलता निर्माण र चोटिलो प्रहार उत्कृष्ट रहेको जानकारी दिए । ‘उठान, विस्तृती, कौतुहलता निर्माण र मारक प्रहार मुक्तकका विशेषता हुन् भन्ने समीपले बुझेका छन् भन्ने प्रमाण उनकै मुक्तक हुन्,’ पौडेलले भने, ‘व्यङ्ग्य प्रधान स्वर दीपकका मुक्तकको प्रधान स्वर हो ।’

Advertisement


भाषिक जादुु, शब्द शिल्प र लयचेत समीपको मुक्तक संग्रहको विशेषता रहेको पनि समीक्षक पौडेलले सुनाए । उनले भने, ‘भाव सबैभन्दा महत्वपूर्ण हो र त्यसपछि संरचना भन्नेमा सचेत छन् ।’ सर्जक समीपले यसपालि भएका त्रुटि र कमजोरी आगामी दिनमा सच्च्याउँदै जाने वचनबद्धता गरे ।


कवि ईश्वरमणि अधिकारीले समीप विचारले प्रजातान्त्रिक, लेखनले प्रगतिशील र व्यवहारले समाजवादी भएको विचार राखे । उलने भने, ‘दीपकले जे लेख्छ, जिम्मेवार भएर लेख्छ, कविता र गजल लेखे पनि उसको जेठो विधा मुक्तक हो ।’ पद र पुरस्कार अनि नचाहिँदो प्रचारको पछि नलाग्ने विशेषता समीपमा रहेको अधिकारीको भनाइ थियो ।

अधिकारीले लामा कथामा भन्दा छोटा कथामा समीप सशक्त प्रस्तुत हुने गरेको अनुभव साट्दै आफूलाई भने समीपले लेखेको लामो आख्यान पढ्ने रहर भएको सुनाए । कविद्वय रमेश श्रेष्ठ र जीवनसागर भण्डारीले पनि समीपका मुक्तक र उनको व्यक्तिगत विशेषताबारे अनुभव साटे । कवि रुपिन्द्रप्रभावी जोशीले समीपका ३ मुक्तक पढेर सुनाए । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा साहित्य संयोजक रीता अधिकारीले संग्रहमा १ सय १ वटा एकसे एक मुक्तक समेटिएको जानकारी दिइन् । अध्यक्ष मोती भुजेल अध्यक्षताको कार्यक्रममा कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया