मुस्ताङमा सकलदर्जाका सेनालाई हलुका सवारी तालिम

सुन्दरकुमार थकाली २०७८ माघ ३ गते ९:१९
मुस्ताङमा नेपाली सेनालाई हलुका सवारी तालिम सञ्चालन । तस्विर ःनेपाली सेना

जोमसोम—

हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक सकलदर्जाका नेपाली सेनालाई लक्ष्य गरी हलुका सवारी चलाउने तालिम संञ्चालन गरिएको छ ।नेपाली सेनाको २३ नं. बाहिनी अड्डा,शैनिक उच्चशिखर शिक्षालय र बज्रदल गण गरी कुल २० जना सैनिक प्रशिक्षार्थीलाई हलुका सवारी तालिम सञ्चालन गरिएको हो ।
मुस्ताङको थासाङ—३ लेते कालोपानीमा अवस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)बाट मान्यता प्राप्त धौलागिरि प्राविधिक शिक्षालयले सवारी तालिमको आयोजना गरेको हो । शिक्षालयको वार्षिक कार्यक्रम अन्तर्गत नेपाली सेनालाई सवारी तालिम सञ्चालन गरिएको जनाईएको छ। मुस्ताङमा कार्यरत सेनालाई सवारी तालिम सञ्चालनको सम्पूर्ण व्यवस्थापन धौलागिरि प्राविधिक शिक्षालयले गरेको छ भने यसको समन्वय घरपझोङ गाउँपालिकाले गरेको धौलागिरि प्राविधिक शिक्षालयले जनाएको छ ।
करिव ६५ दिनसम्म सञ्चालन गरिने तालिममा सहभागीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईने छ ।धौलागिरि प्राविधिक शिक्षालय लेतेमा तालिम सिकाई अभ्यास गराउन असहज हुने र जोमसोमबाट त्यहाँ पुग्न ३३ किमी दुरी टाढा रहेकाले प्रशिक्षार्थीको सहजताका लागि बज्रदल गणको सैनिक क्याम्प भित्र तालिम अभ्यास गराईने जनाईएको छ ।
मुस्ताङमा कार्यरत नेपाली सेनामा सवारी चालकको अभाव रहेको र सकलदर्जाका सेनाहरुको रुचि समेतलाई मध्यनजर गर्दै सवारी तालिमको व्यवस्था गरिएको हो ।
तालिमको बज्रदल गणका गणपती प्रमुख सेनानी श्याम आत्रेय पौडेलले उद्घाटन गरे ।सो अवसरमा प्रमुख सेनानी आत्रेयले तालिममा नयाँ प्रविधिको ज्ञान बारेमा अभ्यास तथा प्रशिक्षण गराईने भएकाले प्रशिक्षार्थीहरुले बढी भन्दा बढी उत्सुक भई तालिम हासिल गर्नुपर्नेमा जोड दिए ।यसअघि मुस्ताङमा नेपाली सेनालाई सैन्य युद्धकला सम्वन्धि विभिन्न प्रकारका तालिम आयोजना हुने गरेको भएपनि पहिलो पटक सेनालाई सवारी तालिम सञ्चालन गरिएको हो । तालिम माघ र फागुन महिनासम्म चल्ने बताईएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया