कास्कीमा २,८१,९४० मतदाता

सञ्जय रानाभाट २०७८ फागुन २ गते १९:५१

सञ्जय रानाभाट
पोखरा ।
कास्कीमा मतदाताको संख्या २ लाख ८१ हजार ९ सय ४० पुगेको छ । अपरिस्कृत तथ्यांक हो । स्थानीय निर्वाचनको मिति घोषणा हुँदाका दिनसम्मको त्यतिका मतदाता पुगेका हुन् । यसमा बाहिरी जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएको तथा दोहोरो तथ्यांक हटाउन लगायत काम गर्नुअघिको तथ्यांक भएको निर्वाचन आयोगको गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जनाए ।


यो २०७४ सालको स्थानीय निर्वाचनका बेलाको भन्दा ५७ हजार १ सय २९ ले मतदाता बढेको देखिएको छ । त्यति बेला कास्कीमा २ लाख २४ हजार ४८१ मतदाता थिए । उक्त साल स्थानीय निर्वाचन ३ चरणमा भएको थियो । कास्कीका पालिकाहरुमा भने वैशाख ३१ गते निर्वाचन भएको हो ।


नेपाल सरकारले आउँदो वैशाख ३० गते निर्वाचन गर्ने मिति माघ २४ गतेको मन्त्रिपरिषदबाट टुंगो लगाइसकेको छ । निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन गर्न पाइन्न । मन्त्रिपरिषदले निर्णय गर्दाको भोलिपल्टैबाट मतदाता संकलन स्थगित भइसकेको छ । यसपालि एकै चरणमा देशभरका ७५३ स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णय छ । २०७४ सालमा भने वैशाख, असार र असोजमा गरी ३ चरणमा निर्वाचन भएको थियो ।

Advertisement


गण्डकी प्रदेशमा महानगरपालिका १, नगरपालिका २६ र गाउँपालिका ५८ गरी ८५ वटा स्थानीय तह छन् । यी पालिकामा वडाको संख्या ७ सय ५९ वटा छ । कास्कीमा एउटा महानगरपालिका र ४ वटा गाउँपालिका छन् । भूगोलका हिसाबमा पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका हो । अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिका र पोखरा महानगरपालिकामा गरी ७२ वटा वडा छन् । स्थानीय निर्वाचनबाट सबै स्थानीय तहमा १÷१ जना प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुनेछन् ।


कास्कीमा सबैभन्दा धेरै मतदाता पोखरा महानगरपालिकामा छन् । यहाँ मतदाताको संख्या २ लाख ७ हजार ७ सय ५ छ । पोखरामा २०७४ को दाँजोमा ३९ हजार ६ सय ३८ मतदाता थपिएका हुन् । उक्त सालमा यहाँ १ लाख ६८ हजार ६७ मतदाता थिए । कास्कीमा सबैभन्दा थोरै मतदाता भएको स्थानीय तह रुपा हो । यहाँ १४ हजार ६ सय ४४ मतदाता छन् । ५ वर्षअघिभन्दा यसपालि ३ हजार ३ सय २९ जना मतदाता रुपमा थपिएका हुन् । रुपामा ७ वटामात्रै वडा छन् । मादीमा १८ हजार ७ सय ५९ मतदाता छन् । यो २०७४ सालको भन्दा ५ हजार २ सयले बढी हो । मादीमा वडाको संख्या १२ छ ।

Advertisement


माछापुच्छ«े गाउँपालिकामा २० हजार ४ सय ६८ मतदाता पुगेका छन् । यो अघिल्लोपालिको भन्दा ४ हजार १ सय ६७ले धेरै हो । माछापुच्छ«ेमा ९ वटा वडा छन् । अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ६४ जना मतदाता छन् । २०७४ सालमा भन्दा ४ हजार ७ सय ९५ मतदाता थपिएका हुन् ।


निर्वाचन आयोगले २०७४ सालको स्थानीय तह चुनावपछि पनि मतदाता नामावली संकलन गरेको थियो । तर त्यो वर्षको मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तय भएपछि भने नामावली संकलन रोकिएको थियो । ती दुई चुनावका बीचमा पनि केही मतदाता थपिएका थिए । उक्त निर्वाचन भएयता मतदाता नामावली संकलनलाई आयोगले निरन्तरता दिइराखेको थियो । जुनसुकै जिल्लामा बसोबास भएको भए पनि नागरिकताको प्रमाणपत्रका आधारमा १८ वर्षको नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्छ । नागरिकता वा बसाइसराइँ प्रमाणपत्र भएको पालिकामा उसको नाम निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्छ ।


नियमित समयमा जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको थियो । केही केही बेला भने निर्वाचन आयोगका कार्यालयहरुबाट पनि मतदाता नामावली संकलन गरिएको थियो । नागरिकता बनाउँदा स्वतः व्यक्तिको नाम मतदाता नामावलीका लागि आयोगमा पुग्ने प्रणाली निर्माण गरिएको थियो । १६ वर्ष पुगेपछि नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउँछन् । नागरिकता बनाउने बित्तिकै मतदातामा नाम सूचीकृत भने हुँदैनथ्यो । १८ वर्ष पुगे स्वतः मतदाता सूचीमा चढ्ने प्रणाली बनाइएको छ । मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा हुने नागरिक मतदाता बन्ने कानुनी प्रावधान छ ।


२०७४ सालको स्थानीय निर्वाचनका बेला पोखरा महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । जुन कुल मतदाताको ७४ दशमलव ९३ प्रतिशत हो । मादी गाउँपालिकामा ९ हजार ८ सय ८० मत खसेको थियो । जुन ७२ दशमलव ८७ प्रतिशत हो । अन्नपूर्ण गाउँपालिकामा खसेको मत ११ हजार ३ सय ५० थियो । त्यहाँ ७२ दशमलवव ९० प्रतिशत मत खसेको हो । माछापुच्छ«े गाउँपालिकामा १२ हजार ६ सय ८२ अर्थात ७८ दशमलव ९० प्रतिशत खसेको थियो ।

रुपमा ८ सय २ सय ६० जनाले मतदान गरेका थिए । जुन ७३ प्रतिशत हो ।
२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयर निर्वाचित भएका थिए । अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँवर र उपप्रमुखमा एमालेकी सगुन गुरुङ विजयी भएकी थिइन् । मादी गाउँपालिकामा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ प्रमुख र विष्णुदेवी आचार्य पौडेल उपप्रमुख तथा रुपामा पनि एमालेकै नवराज ओझा प्रमुख र लालसुवा गुरुङ उपप्रमुख निर्वाचित भएकी थिइन् । पोखराका ३३ मध्ये २२ वटा वडामा एमाले उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका थिए भने बाँकी ११ मा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।


कास्कीका ५ पालिकाहरुमा ७२ वडा भएको हुँदा १० जना प्रमुख, उपप्रमुख र वडामा ५ जनाका दरले ३६० जना प्रतिनिधि चयन हुनेछन् । नगर तथा गाउँसभाको निर्वाचनबाट कार्यपालिका सदस्यहरु चुनिने व्यवस्था स्थानीय तहमा छ । निर्वाचित जनप्रतिनिधिहरुले नै कार्यपालिका चुन्छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया