राष्ट्र उत्थान लघुवित्तको सेयर खुल्यो

समाधान संवाददाता २०७८ फागुन ४ गते १४:४४


काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि बुधबारदेखि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।


कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।


निष्कासित सेयरमा सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन १८ गतेसम्म सेयर निष्कासन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।

Advertisement


कम्पनीको हाल चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको सेयरको बाँडफाँडपश्चात चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया