सेदीको वाईयुके सुपरमार्केटमा सटर बुकिङ

समाधान संवाददाता २०७८ फागुन ५ गते १४:३६


पोखरा
पोखरा १८ लेकसाइड सेदीमा स्थापित व्यावसायिक मल वाईयुके सुपरमार्केट प्रालि सञ्चालनमा आउन लागेको छ । सुपरमार्केट १५ करोड रुपैयाँको लगानीमा बनेको हो । २० वर्षका लागि १७ रोपनी जग्गा भाडामा लिएर युवराज खतिवडाले बजार सञ्चालनमा ल्याउन लागेका हुन् ।
आउँदो नयाँ वर्ष २०७९ को अवसर पारेर बजार उद्घाटन हुने भएको छ ।

Advertisement

‘निम्न र मध्यम स्तरका ग्राहक लक्ष्य गरी सुपरमार्केट सञ्चालनमा ल्याउन लागेका हौं,’ खतिवडा भन्छन्, ‘व्यवसायीहरुको नकरात्मक प्रतिस्पर्धाले मारका परेका सामान्य खालका व्यवसायीप्रति पनि यो मार्केट लक्षित छ ।’


४ वटा बिल्डिङको ३ तला रहने भवनमा ४ सय सटर छन् । ५ दर्जन हाराहारीमा व्यवसायी रहनेछन् । अहिले मेडिकल, स्टेशनरी, धराने सेकुवा, फ्रेस हाउस, फलफूल तरकारी, गेम हाउस र चाइनिज रेस्टुरेन्टको सटर बुक भइसकेको छ । अहिले नै आधाभन्दा बढी व्यावसायिक सटरहरु बुकिङ भइसकेका छन् । बुकिङ धमाधम भइरहेको पनि खतिवडाले सुनाए ।


लेकसाइडको सेदी, खपौदी, पामेसम्म पुग्ने पर्यटकलाई लक्ष्य गरेर गेस्ट हाउसदेखिको सबै सामान एकै ठाउँमा पाउने गरी मार्केट सञ्चालनमा ल्याउन लागेको खतिवडा बताउँछन् । बजारको मुख्य विशेषता नै सुलभ र सस्तो मूल्यमा सबै काम एक ठाउँ भन्ने विश्वास उनले व्यक्त गरे । बजारमा बैंक तथा वित्तीय संस्था, सहकारी, ट्राभल एजेन्सी, इन्जिनियरिङ कन्सल्टेन्सी, मेडिकल, भेटनरी, फ्रेस हाउस, तरकारी, डिपार्टमेन्टल स्टोर्स, रेस्टुरेन्ट, फेन्सी, थान्का, थकाली भान्सा, इलेक्ट्रिकल आइटम्स, मोबाइल, ग्रोसरी शप, ब्युटीपार्लर, स्पा, वाइन सप, सुन पसल, सहकारी, पार्टस तथा मेसिनरी पसल, किराना पसल, दोहोरी साँझ, डिस्को, बार, पुल एन्ड गेम हाउस, जिम एण्ड फिटनेस, क्लिनिक, प्लाष्टिकका भाँडा पसल, फर्निचर शो रुम, होम डेकोर गरी नुनदेखि सुनसम्मका पसल हुने जानकारी खतिवडाले दिएका छन् ।

‘मार्केटभित्र ज्येष्ठ नागरिक कक्ष, बाल उद्यान, जिम हल, रनिङ ट्र्याकसमेत हुनेछन्,’ उनले भने । खतिवडाले पोखरा पृथ्वीचोकको ‘पोखरा सस्तो बजार’, सिद्धार्थ चोकमा ‘फेवा एग्रिकल्चर प्रालि’ र पस्र्याङको ‘वाईयुके मिनीमार्केट’ सञ्चालन गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया