
सञ्जय रानाभाट ।
पोखरा ।
गण्डकी प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षामा परिवर्तन भएको छ । आइतबारदेखि लाइसेन्स निकाल्न प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था भएको हो ।
मोटरसाइकल, जिप, डेलिभरी, स्कुटर, मोपेड, कार, भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्ने छ । जसमा घुमाउरा आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी सवारी चालन अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको छ । गण्डकी प्रदेश सरकारले आइतबारदेखि यो व्यवस्था कार्यान्वयनमा गरेको हो ।
निर्देशिका अनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि हो । शिशुवा घर भएका दीपक थापाले आइतबार ९५ अंक ल्याएर ट्याक्सीको ट्रायल कटाए । ३ वर्षदेखिको बारम्बार प्रयास गर्दा पनि ट्रायल पास गर्न नसकेका थापा प्रदेशमा प्रयोगात्मक परीक्षाको मोडालिटी सुरु भएको पहिलो दिन नै पास गर्ने पहिलो व्यक्ति ने ।
उनी २ पटकसम्म फेल भए । बीचमा कोरोना महामारी र अनलाइन फर्म भर्नुपर्ने भएकाले ३ वर्ष पर्खिनुपरेको उनको भनाइ छ । ‘सानो गल्तीले पनि फेल भएर निराश भएको थिएँ,’ उनले भने, ‘सिट बेल्ट नबाधेकै कारणले फेल हुने भएपछि धेरै गाह्रो भएको थियो । यो नियम व्यवहारिक लाग्यो ।’
२ वर्षअघि ट्याक्सीको स्टार्ट अफ भएकै कारणले उनी फेल भएका थिए । ‘फेल हुँदा ठूलो जघन्य अपराध गरे जस्तो महसुस हुन्थ्यो । अब सानो मिस्टकले फेल हुने प्रणाली हटेको छ । मजस्ता धेरै लाई यसले फाइदा पुग्छ,’ थापा भन्छन् ।

लाइसेन्स पनि नागरिकता लिए जस्तो सहज
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले लाइसेन्स लिन अब धेरै झन्झट नहुने प्रतिवद्धता गरे । आइतबार परिवर्तित ट्रायल उद्घाटन कार्यक्रममा उनले अब नागरिकाले सहज रुपमा नागरिकता जसरी नै लाइसेन्स पाउने उनले बताए । ‘हिजोको अवस्था एकदमै जटिल थियो । १५० जनाले प्रयोगात्मक परीक्षा दिँदा २÷३ जनामात्र पास हुन्थे । २ प्रतिशत पनि पास नहुने विडम्बना थियो ।,’ मन्त्री खड्काले भने ।
नयाँ प्रयोगात्मक परीक्षाबाट २५ प्रतिशत पास हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले यसअघि १० मिनेटमै अस्थायी लाइसेन्स पाउने व्यवस्था गरिसकेको छ । मन्त्री खड्काले भने, ‘लाइसेन्सको समस्या सहज सुल्झिन्छ ।’
आउँदो असोजसम्ममा लाइसेन्स लिन सहज अवस्था बन्ने यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख प्रेम सुवेदीले बताए । ‘आवेदन २ लाख छन् । यसलाई असारदेखि असोज महिनासम्म सहज बनाउँछौं । धेरै पछाडि पुगेका अफिस भिजिट डेटअघि सार्छौं,’ उनले भने । विदेश जानेहरुका लागि छिट्टै फर्म भर्ने व्यवस्था गरेको उनले सुनाए । ‘अहिले ४ दिन फर्म भरेकालाई एकै दिन बोलाएका छौं, । अब एक हप्ताभरिकालाई एकै दिन बोलाउँछौं,’ उनले भने । आइतबार ट्रायल दिएका धेरै पास भएको उनले सुनाए । ‘३ जनाले स्कुटरको दिएका थिए, सबै पास भए । बाइकको दिने १२ जनामध्ये ५ जना र ट्याक्सीका ३२ जनामध्ये १५ जना पास भए,’ सुवेदीले भने ।
कुन चरणको अंक भार कति ?
१ सय अंकको प्रयोगात्मक परीक्षा विभिन्न चरणमा छुट्याएको छ । हरेक चरणको अंकभार फरक फरक छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ । सिट बेल्ट नलगाई सवारी चलाएमा ४ अंक र अस्वभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ ।
वर्ग ‘ख’ कार÷जिप÷डेलिभरीका लागि दिइने प्रयोगात्क परीक्षको अंक घुमाउरो आठमा २० अंक, स्पीड ब्रेकमा १०, दुई प्रांग्रेको हकमा पनि १० अंक, युटर्नमा १० अंक, ट्राफिक संकेतमा १५ अंक र दुई प्रांगेको (उबडखाबड) १५ अंक छ । ¥याम्प उकालोमा १५ र दुई पांग्रेको उकालोमा २० अंक छ । चार पांग्रेको ग्यारेज पार्किङमा २० र परीक्षार्थीको व्यवहारगत पक्षको सम्रग मूल्यांकन १० अंकमा गरिन्छ ।
घुमाउरो आठको अंकभार २० छ । घुमाउरो आठको एक पटकसम्म रेखा छोएमा र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ । यति हुँदैमा परीक्षार्थी फेल हुने छैनन् । घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारी अगाडि बढ्ने क्रममा सवारीलाई पछाडीतिर सारेमा फेल हुन सकिन्छ ।
दुई पांग्रेको हकमा हुने साँघुरो फलेकको अंकभार १० छ । चार पांग्रेको स्पिड ब्रेकरमा एक पटकभन्दा बढी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुन्छ । दुई पांग्रेमा ब्रेकरमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । यो चार पांग्रेको हकमा पनि लागू हुन्छ ।
चार पांग्रेको भने दुई प्रांग्रेको जस्तो फलेक हुने छैन । दुई प्रांग्रेका पलेकमा १० अंक राखिएको छ । खुट्टाले भुइँ टेकमा, सवारी फलेकबाट बाहिर निस्केमा अनुत्तीर्ण घोषणा हुन्छ । त्यस्तै, युटर्नको अंकभार १० छ । टर्निङमा इन्डिकेटर नबालेमा दुई पांग्रेमा १५ र चार पांग्रेमा १० अंक घट्छ । युटर्नमा अंकित रेखा छोएमा पनि परीक्षार्थी फेल हुने छन् । यो चार पांग्रे र दुई पांग्रे दुवैका लागि हो ।
उकालोको अंकभार दुई प्रांग्रेको २० र चार प्रांग्रेको १५ छ । उकालो ओरालोमा कुनै गल्ती भए फेल भइन्छ । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा पनि असफल घोषित गरिन्छ । रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुन्छन् ।
ग्यारेज पार्किङको २० अंक छ । सवारीलाई ब्याक गर्दा एक पटकसम्म अगाडि सारेमा १० अंक घट्नेछ । पछाडि गुडाउने क्रममा एक पटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छाएमा अनुत्तीर्ण हुने प्रावधान छ । परीक्षार्थीको व्यवहारगत पक्षकोे समग्र मूल्यांकनमा १० अंक छ । यी विभिन्न चरणमा १ सय अंकमा ७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था छ ।
लिखित पास गर्न ६० अंक
यसअघि लिखित परीक्षा पास गर्न ५० प्रतिशत अंक ल्याए हुनेमा अब ६० अंक ल्याउनुपर्ने भएको छ । लिखितमा २० वटा प्रश्न सोधिने्छ । प्रत्येक प्रश्न ५ अंकका हुने छन् । ती प्रश्नको ३० मिनेटभित्र उत्तर दिइसक्नुपर्ने छ । लिखित परीक्षाका लागि विभागले ५ सय वस्तुगत बहुउत्तर प्रश्नको संग्रह तयार गरेको छ । परीक्षाको पूर्णांक १ सय छ ।
ट्याक्सीकोे ट्रायलमा एल ब्लक
ट्रायलमा अधिकांशले सिटबेल्ट, ब्रेक र गियर, घुमाउरा आठ, घुम्ती परीक्षण र उकालो ओरालो परीक्षणसम्म कटाउथे । तर, ट्रायल गर्नुअघि पार गर्नुपर्ने याल ब्याकमा अझै जटिलता कायम छ । यसअघि पनि अधिकांश परीक्षार्थी याल ब्याकमै गएर फेल हुन्थे । ओरालो झरेर सिधा याल ब्याकपछि गएर रोकिने ठाउँमा लाइन छोएको नम्बर काटिन्थ्यो । गाडी ब्याक गर्दा भने कुनै छुट छैन । आइतबार पनि याल ब्याकमै गएर धेरै परीक्षार्थी फेल भएका छन् । यसअघि १ सय ५० जनाले दैनिक ट्रायल दिने गरेकोमा सरदर ३ जना पास हुन्थे ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया