पोखरा विश्वविद्यालय परिसरमा अस्पताल शिलान्यास, बन्ने नबन्ने थाहा छैन

समाधान संवाददाता २०७५ चैत ८ गते ८:५२

समाधान सम्वाददाता

पोखरा विश्वविद्यालयले आफ्नै मेडिकल कलेज खोल्ने भनेर तयारी थालेको १ दसकभन्दा बढी भइसक्यो । कहिले विद्यार्थी आन्दोलन, कहिले पदाधिकारीबीचकै विवाद त कहिले कर्मचारी आन्दोलनले काम अगाडि बढ्न सकेन । लेखनाथकै मुसेटुँडामा विश्वविद्यालयको प्रशस्त जमीन छ ।

त्यही जमीनमा मेडिकल कलेज बनाउन विश्वविद्यालयले अध्ययन समिति नै बनायो । तर नजिकै नेपाल आयल निगमको डिपो भएकाले प्राविधिक रुपमा उपयुक्त नभएको सुझाव समितिले दियो । राजाको चौतारोनजिकै ७ सय रोपनी जग्गा प्राप्तिका लागि विश्वविद्यालयले लामै कसरत गर्‍यो । स्थानीयको सहमति भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर फाइल अड्कियो ।

Advertisement

मेडिकल कलेजका लागि तयारी नपुगेको र जग्गा पनि पर्याप्त नभएको भन्दै पोखरा विश्वविद्यालयले अस्पताल बनाउन थालेको छ । स्थापना कालदेखि नै स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयले अहिले आएर आफ्नै अस्पताल निर्माण थाले पनि कहिले बन्ने भन्ने निश्चित छैन । अहिले विद्यार्थीलाई प्रयोगात्मक परीक्षाका लागि बाहिरी अस्पतालहरुमा पढाउँदै आएको पोविविले सरोकारवालाको दबाब कम गर्न अस्पताल शिलान्यास गरेको छ । पोविविले केन्द्रीय कार्यालय हाताभित्र बनाउने १ सय ५० शड्ढया क्षमताको अस्पताल शिलान्यास बिहीबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले गरेका छन् ।

अस्पताल शिलान्यास भए पनि बजेटको व्यवस्थापन भने कतैबाट गरिएको छैन । रजिस्ट्रार गोविन्द शर्मा पौडेल भन्छन्, ‘हाम्रो पालमा शिलान्यास गरियो, मेडिकल कलेजको लागि छुट्याइएको ५ करोड रुपैयाँ छ, त्यही बजेटबाट त होला नि अस्पताल बनाउने ।’ विश्वविद्यालय अनुदान आयोग, नेपाल सरकारको सहयोगबाटै अस्पताल बनाइने भए पनि कति रकम लाग्छ, कहिलेसम्म बनिसक्छ भन्ने पोविवि पदाधिकारीलाइनै थाहा छैन ।
विद्यार्थीलाई इन्टर्नसिप गराउनमात्रै बनाउन लागिएको विश्वविद्यालयका रजिस्ट्रार शर्मा बताउँछन् । ‘विश्वविद्यालयले आफ्नै मेडिकल बनाउने पहिल्यैदेखि सोचिरहेको हो । त्यसको अनुमति पनि पाइसकेका छौं,’ उनले भने, ‘तर त्यसका लागि हामीले अझै पनि उपयुक्त जग्गा पाएका छैनौं । पटकपटक प्रयास गर्दा पनि सफल भएनौं ।’

Advertisement

शर्माले विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन कठिनाइ भइरहेको बताए । उनले भने, ‘आफ्नै अस्पताल नहु“दा पारामेडिकल कोर्सका प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पतालमा पठाउनुपर्ने वाध्यता छे । यसबाट विश्वविद्यालय र विद्यार्थी दुवैलाई गाह्रो र खर्चिलो पनि भइरहेको छ ।’ पोविविको आफ्नै अस्पताल बनेपछि सबैलाई सहज हुने उनले बताए ।

विश्वविद्यालयले आफ्नै अस्पताल नहुँदा विद्यार्थीलाई पारामेडिकल कोर्स प्रयोगात्मक अभ्यास पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, हिमालय आ“खा अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमार्फत गराउँदै आएको छ । उनले विश्वविद्यालयले निकट भविष्यमा स्कूल अफ मेडिसिनको स्थापना गरी त्यसै अन्तर्गत अस्पताल सञ्चालन गर्ने बताए ।

स्वतन्त्र विद्यार्थी युनियन पोविविले अस्पताल शिलान्यासको स्वागत गरेको छ । सभापति सुनिल तिमिल्सिनाले स्ववियुको चर्को दबाब र अनसन सफल भएको दाबी गरे । विश्वविद्यालय र विद्यार्थीको हितको लागि ऐतिहासिक काम भएको सभापति तिमिल्सिनाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया