चिडयाखाना बनाउने पाेखरा महाेत्सव पर्सिदेखि

समाधान संवाददाता २०७५ पुष २५ गते ९:५७

समाधान संवाददाता
पोखरा

नवौं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । आयोजक युनाइटेड क्लबले मंगलवार पत्रकार सम्मेलन गरी पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंह चौरमा हुने महोत्सवको तयारी सकिएको जनाएको हो । 

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लगि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा पनि क्लबले योगदान गर्दै आएको छ । मूल समारोह समिति संयोजक एवं क्लबका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सव सबै पोखरेलीको भएको आभास दिने गरी महोत्सव हुने बताए ।

Advertisement

उनले लोकदोहोरी गायकगायिकालाई पूर्ण अनुशासित भएर प्रस्तुत हुन अनुरोध गरिएको र महोत्सवमा बढी मूल्य लिएको र म्याद गुज्रेका सामान बेचे-नबेचेको अनुगमन गरिने उल्लेख गरे । 
महोत्सवमार्फत क्लबले ९ वर्षको अवधिमा गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि १२ वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरिसकेकाे छ ।

यस पटक क्लबले पोखराको लेखनाथ पचभैयामा निर्माणाधीन जियोलोजिकल पार्क (चिडियाखाना)को अवलोकनको व्यवस्था मिलाएको छ । चिडियाखानासम्म सित्तैमा बसको व्यवस्था गरिएको क्लबका संस्थापक अध्यक्ष तथा पोखरा जियोजिकल पार्कका अध्यक्ष हिमाले बख्रेलले बताए । 

Advertisement

पोखरामा खुला चिडियाखाना निर्माणलाई युनाइटेड क्लबले अघि सार्दै आएको छ । क्लबको पहलमा लेखनाथको पचभैयामा क्लबो ४५ लाख ८५ हजार रुपैयाँ र विभिन्न सरकारी निकायको सहयोगमा पार्क निर्माण भइरहेको छ । प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र निर्माणका लागि यस वर्ष डेढ करोड विनियोजना गरेको छ । ढिलोमा आगामी दसैंसम्ममा पार्कको ८० प्रतिशत काम हुने बख्रेलले सुनाए ।

पोखरा ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंछी उद्धार केन्द्रका लागि भवन, खानेपानी जडान, बाटो निर्माण भइरहेको छ । मृगस्थली र बाघ राख्ने खोर भने बनिसकेका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानी मा थप चरा ,मृग, बाँदर, हिमालयन थार र भालुका ठूला ठूला इनक्लोजर, घाइते वन्यजन्तुको उपचार कक्ष, बिरामी वन्यजन्तु बोक्ने स्टेचर। विभिन्न इनक्लोजरसम्म पुग्ने गोरेटो बाटो र प्रवेशद्वार बनाउने योजना छ । 

गण्डकी प्रदेश सरकाटबाट १ करोड ५० लाख पोखरा जुलोजिकल पार्कको डिपिआर बनाउन विनियोजन भएको छ । क्लबले सेती नदी संरक्षण प्रति टिकटबाट १ रुपैयाँ छुट्याइने महोत्सव प्रचारप्रसार संयोजक शान्ताबहादुर थापाले बताए । 

महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादन प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधि प्रदर्शनी एवं जानकारी, व्यावसायीक संघ संस्थाको बारेमा जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको जानकारी, नेपाली संस्कृति झल्कने नृत्य, कृषि तथा अटो मेला र बाल उद्यानका सञ्चालन हुने प्रचारप्रसार संयोजक थापाले बताए । 

महोत्सवमा कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, रामजी खाँड, राधिका हमाल, प्रिती आले, ज्योति मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहाल लगायतले प्रस्तुति राख्ने छन् । साँझ दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्ड, पुष्पान प्रधान, लाहुरे, द एक्स, सविन राइ एन्ड द फेरो, भिटेन, मेलिना राई, त्रिष्णा गुरुङ, द एज ब्यान्ड, सुशान्त केसी र लोकल ब्यान्डहरुले युवालाई भरपूर मनोरञ्जन दिने छन् ।

महोत्सवमा नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुुति, बाल उद्यान, प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता, झाँकी प्रतियोगिता र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत रहनेछन् । पोखरा महोत्सवमा २ सय ५० वटा स्टल छन् । महोत्सवमा २ लाखदेखि २ लाख ५० ले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवबाट १ करोड २६ लाख १० हजार आम्दानी, ८७ लाख ५० हजार खर्च गरी ३८ लाख ६० हजार बचत गर्ने आयोजकको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया