कलाकार पल शाह पक्राउ परे

पोखरा ।
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता एवम् मोडल पल शाह पक्राउ परेका छन्। अभिनेता शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताएका छन्। पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन्।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले शाहको खोजीका लागि प्रहरी प्रधान कार्यालयमार्फत् देशभरका विभिन्न प्रहरी कार्यालयलाई आग्रह गरेको थियो। प्रहरीले खोज्दा भने उनी ’भेटिएका थिएनन्’।
शाहले आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफू स्वयं प्रहरी कार्यालयमा उपस्थित हुने जनाएका थिए। गायिका रहेकी आफ्नी नाबालिग छोरीलाई बनावटी प्रेमको बहानामा बलात्कार गरेको भन्दै उनका बुवाले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । पलले भने यो कुरा अस्वीकार गर्दै आफूमाथि षड्यन्त्र भइरहेको दाबी गर्दै आएका छन् ।
आरोप प्रमाणितै भए पनि प्रहरीमै आत्मसमर्पण गर्नेहरुको सजायमा २० प्रतिशत छुट हुन्छ ।
तपाईको प्रतिक्रिया