कास्कीमा महिला मतदाता बढी

प्रमिला कुँवर २०७८ फागुन १६ गते १३:००

पाेखरा ।

Advertisement

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कास्कीमा पुरुषभन्दा महिला मतदाता बढी देखिएका छन् । प्रदेश निर्वाचन कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा पुरुषभन्दा महिला मतदाता बढी देखिएको छ ।


कास्कीमा २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेकोमा त्यसको ५३ प्रतिशत महिला देखिएका छन् । ४७ प्रतिशत मतदातामात्र पुरुष रहेको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्लामा ४ तेस्रो लिंगी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा १ लाख ४८ हजार ६७ जना महिला मतदाता र १ लाख ३३ हजार ८ सय ६९ पुरुष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।


२०७४ मा भएको स्थानीय र प्रदेश निर्वाचनमा पनि कास्कीमा ४ तेस्रो लिंगी थिए । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने गरी नामावली प्रकाशन गरेको हो । निर्वाचन कार्यालयले अद्यावधिक गरेको मतदाता नामवलीमा २९ वैशाखसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने गरी मतदाता कायम गरिएको छ ।
सरकारले माघ २४ गते स्थानीय तहको निर्वाचन घोषण गरेसँग निर्वाचन कार्यालयले मतदाता नामवली संकलन कार्य माघ २५ देखि बन्द गरेको कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए ।


निर्वाचन कार्यालयले मतदाता नामवलीमा दाबी विरोधका लागि प्रत्येक जिल्लाका वडामा पठाइसकेको पराजुलीले सुनाए । दाबी विरोध कार्यक्रम माघ २४ बाट सुरु भएको र चैत १३ सम्म चल्ने उनले सुनाए । ‘यो अवधिमा कसैले झुट्टा विवरण दिई नामावली समावेश गरेको भए विरोधमा उजुरी दिन सकिन्छ । एकभन्दा बढी स्थानीय तह वा एकै जिल्ला भित्रको भए रद्द गर्न आयोगमा निवेदन दिन मिल्छ,’ उनले भने, ‘७४ सालमा भएको निर्वाचन भएपछि बसाइसराइ गरेका, मृत्यु भएका वा नागरिकता त्याग गरेकाको नामावली रद्द गर्न मिल्छ ।’

Advertisement

यो अवधिमा मतदाता नामावलीमा कुनै त्रुटि भएमा वडामा निवेदन दिएर सिफारिससहित सक्कल प्रमाणपत्र ल्याएर सच्चाउन सकिने उनले जानकारी दिए । दोहोरो नाम परेको खण्डमा छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएका डाटासँगै आयोगमा पठाइने पराजुलीले सुनाए ।


कास्कीमा १५० मतदान स्थल
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै निर्वाचन कार्यालयले मतदान स्थलको टुंगो लगाएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले आइतबार अद्यावधिक जिल्लाभर १ सय ५० मतदान स्थल तोकेको जानकारी दिएको हो ।


कार्यालयले स्थानीय तह चुनावमा ३ सय ३७ मतदान स्थल हुने जनाएको छ । । यो संख्यामा थोरै थपघट हुन सक्ने निर्वाचन कार्यालयका प्रमुख पराजुलीले बताए । २०७४ सालमा भएको चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र ३ वटा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ६ वटा भएकोमा त्यसैलाई कायम गरिएको छ । जिल्लामा ५ स्थानीय तह र ७२ वडा छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया