पोखराबाट धनगढी हवाई उडान सुरु

पोखरा ।
धनगढीसँग पोखरा सिधा हवाई उडानबाट जोडिएको छ । बुद्ध एयरले बुधबार यस्तो सेवा थालेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सिधा उडान सुरु गरिएको हो ।
नाट्टाको टोली पर्यटन प्रवद्र्धनका लागि बुधबार धनगढी उडेको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ । शुक्रबार धनगढीबाट पोखरा उडान हुनेछ । उक्त उडानमा सुदूरपश्चिमका तीनजना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
यसअघि नेपालगन्ज सहर पोखराबाट सिधा हवाई उडानबाट जोडिइसकेको छ । बिहान ११ : ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ । प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ ।
यसअघि मधेस प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सिधा उडान हुँदै आएको छ । बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ ।
नाट्टाकै समन्वयमा यसअघि मधेस प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतको टोली पोखरा भ्रमणमा आएको थियो । केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ ।

तपाईको प्रतिक्रिया