नेपालभरिमा सबैभन्दा बढी विदेशीको अवैध बसाइ पोखरामा

समाधान संवाददाता २०७५ चैत ९ गते ८:०८
dav

विकास रोकामगर

नाम फेरेर पोखरामा अवैध काम गरिरहेका विदेशी १ नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो । ती विदेशी नागरिक प्रेम ओझास् नामबाट १० वर्षदेखि उक्त होटेलमा ट्वाइलेट क्लिनरको काम गर्दै आएका थिए ।

दिनको १ सय रुपैयाँमा काम गरिरहेका ती विदेशीको कर्तुत त्यतिबेला बाहिर आयो जतिबेला उनले काम गरिरहेको होटेल बिक्री भयो र अर्को साहुले उनीलाई दैनिक ५० रुपैयाँ तलब दिन लागे । पर्यटन प्रहरी पोखराले पक्राउ गरी उनलाई अध्यागमन कार्यालयमा बुझायो । अहिले उनी केन्द्रीय कारागारमा छन् । उनी क्यान्सरको बिरामी पनि भएकाले खर्च पु¥याउनै गाह्रो भइरहेको अध्यागमन विभागले बताइरहेको छ ।

Advertisement

गोर्खाको उत्तरी भेगमा ट्रेकिङमा गएका बेला अर्का १ विदेशी बिरामी परे । अनुमति नै नलिइ निषेधित क्षेत्रमा पुगेका उनलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगियो । पैसा तिर्ने क्षमता नभएका उनी अध्यागमनको टाउको दुखाइ बनेका छन् । आफूलाई जर्मन नागरिक बताउने १ वृद्ध पोखराको लेकसाइडमा भौतारिइरहेका देखिन्छन् । पर्यटन प्रहरी पोखराले उनलाई नियन्त्रणमा पनि लियो । तर काठमाडौंसम्म पुर्‍याउन समस्या भएको भन्दै अध्यागमन कार्यालय पोखराले उनको जिम्मा लिन मानेन । अहिले पनि ती विदेशी सडकमै रात बिताउँछन् ।

कुनै १ भिसामा नेपाल प्रवेश गरी अवैध रुपमा नेपालमै बस्ने र विभिन्न गैरकानुनी काम गर्ने विदेशीले समस्या निम्त्याइरहेका यी प्रतिनिधि घटनामात्रै हुन् । बिना अनुमति हिमाली तथा अन्य क्षेत्रमा घुम्न जाने र उनीहरु त्यतै हराउने मुख्य समस्याका रुपमा देखा परेको अध्यागमन विभागले बताएको छ । हिमाली जिल्ला मनाङ मुस्ताङमा समेत वर्षौं पुराना बिना पहिचानका विदेशी नागरिकसमेत बेलाबेला फेला परिरहेका छन् ।

Advertisement

नेपाल कति विदेशी नागरिक अवैध रुपमा बसिरहेका छन्, स्वयं अध्यागमन विभागलाई नै जानकारी छैन । विभिन्न कारणले उनीहरु पक्राउ परिसकेपछि मात्रै उनीहरुको अवैध बसाइ हो भन्ने तथ्य खुल्ने गरेको छ । नेपालभरिमा सबै भन्दा बढी विदेशीको अवैध बसाइ पोखरामा रहेको सरोकारवाला बताउँछन् । नेपालको खुल्ला नाका र कमजोर राज्य संयन्त्रको फाइदा उठाउँदै विदेशीहरु नेपाल आउने र अवैध रुपमा बस्ने गरेको शुक्रबार पोखरामा आयोजित १ कार्यक्रमका वक्ताले बताए ।

एउटा उद्देश्यको भिसा लिएर नेपाल आउने र अर्को काममा लाग्ने, अवैध काम तथा तस्करी गर्ने, लागुऔषध ओसारपसार गर्ने, अनाधिकृत रुपमा धर्मको प्रचारप्रसारमा लाग्ने र भिसा सकिए पनि लामो समयसम्म विदेशीहरु नेपाली भूमिमा बसिरहेको विभागले बताएको छ ।

‘नेपाल भित्रिसकेपछि उनीहरु कहाँ गए, के र कस्तो उद्देश्यले काम गरिरहेका छन् । त्यसलाई अनुगमन र नियमन गर्न हामीसँग बलियो संयन्त्र छैन,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘जब उनीहरु कुनै कारणले पक्राउ वा फेला पर्छन् तबमात्रै हामीले थाहा पाउँछौं ।’ उनले विदेशी नागरिकको अवैध बसाइबारे अनुगमन र नियमन गर्ने जिम्मेवारी गृहमन्त्रालयको भएकाले त्यतातर्फ ध्यान दिए समस्यामा कमी आउने दाबी गरे ।

अध्यागमन विभागले वैशाख यतामात्रै विभिन्न अध्यागमन कसुर तथा सजायवापत पक्रेर गरी १ सय ६४ जनालाई निष्कासन गरेको जनाएको छ । निष्कासन पर्नेमा जाली राहदानी, जाली भिसा, ओभर स्टे लगायतका कसुरमा पक्राउ पर्ने छन् । विभागका निर्देशक रामचन्द्र तिवारीले केन्द्रीय कारागारमा अहिले पनि १४ जना विदेशी रहेको जानकारी दिए । ‘सबै नेपाल आएर राम्रा काम गर्छन् भन्ने हुँदैन । जति धेरै पर्यटक भित्रिन्छन्, त्यतिधेरै नकारात्मक गतिविधिको सम्भावना बढ्छ,’ उनले भने ।
अध्यामन विभागले अवैध क्रियाकलाप तथा बसाइ रोक्न विभिन्न ठाउँमा कार्यालय स्थापना गरेको छ । काँकडभिट्टा, पशुपतिनगर, वीरगञ्ज, त्रिभुवन विमानस्थल, पोखरा, बेलहिया, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, हिल्सामा अध्यागमन विभागको कार्यालय छ । ती सबैले आफ्नो क्षेत्रमा भित्रिने विदेशी नागरिकको जानकारी राखिराखेका छन् ।

तर, ती सबै कार्यालयमध्ये पोखरा कार्यालयको कार्य अधिकार भने धेरै छ । पोखरा कार्यालयले पर्यटकको भिसा अवधि थप गर्ने सुविधामात्रै पाएको छैन, निषेधित क्षेत्रमा जान अनुमति दिने र १० वर्ष मुनिका बालबालिकालाई निशुल्क नाता भिसा जारी गर्न पाउने समेत अनुमति छ । ‘पर्यटकीय हिसाबले पोखरामा धेरै हुन्छन् । गण्डकी प्रदेशमा धेरै निषेधित क्षेत्र पनि भएकाले हामीले पोखरालाई यो सुविधा दिएका हौैं,’ महानिर्देशक पौडेलले भने ।

अध्यागमन विभागले अवैध विदेशीहरुलाई प्रश्रय दिनु पनि अवैध कार्य भएको बताएको छ । विदेशीहरु नेपालमा आइसकेपछि विभिन्न बहानामा बस्ने, गैरकानुनी काम गर्नेहरु नेपालीको सहयोगले नै सफल हुने गरेको विभागले खुलाएको छ । ‘होटल रेस्टुरेन्ट तथा गाउँठाउँमा गोरो छाला देख्ने बित्तिकै हामी पर्यटक थान्छौं । तर, उनीहरुको वैधताबारे हामीलाई जानकारी हुँदैन । सहयोग गरिरहेका हुन्छौं,’ निर्देशक रामचन्द्र तिवारीले भने ।

तिवारीले होटेल तथा रेस्टुरेन्टमा बास दिँदा होस् या हवाइ तथा अन्य सार्वजनिक सवारी साधनमा विदेशी चढाउँदा पनि कागजपत्र चेकजाँच गर्न सके अवैध विदेशी पक्राउ पर्ने बताए । ‘एअरलाइन्स कम्पनीले विदेशीलाई टिकट बेच्छन् । तर, टिकट दिँदा उनीहरुको भिसा र पासपोर्टबारे जानकारी राख्दैनौं । अब त्यसो नगरौं,’ उनले भने ।

अध्यागमन विभागले नेपालमा विदेशीको अवैध बसाइ तथा गैरकानुनी काम रोक्न विभिन्न सुधारका काम सुरु गरिसकेको दाबी गरेको छ । ‘आउँदो वर्षबाट नेपाल भित्रिने र बाहिरिने पर्यटकको सम्पूर्ण विवरणसहितको अध्यागमन सूचना प्रणाली पूर्ण रुपमा लागू गर्दैछौं,’ विभागका महानिर्देशक पौडेलले भने ।

पौडेलले अमेरिकासँग गैर कानुनी पर्यटकबारे भिसा दस्तुर र अवधिमा पारस्परिकता समन्वय गर्न सम्झौता भइसकेको बताए । उनले नेपालभरिका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायी संस्थामा सफ्टवेयर उपलब्ध गराई पर्यटक ट्र्याकिङ विधि ल्याउन लागेको जानकारी दिए । ‘हाल नेपालको भिसा पनि कमजोर खालको छ । यसलाई पनि मेसिनबाटै पढ्न मिल्ने गरी काम गरिरहेका छौं,’ उनले भने ।

भूकम्पपछि भर्खरमात्रै नेपालको पर्यटन उद्योग टंग्रिरहेको अवस्थामा विभागले कानुनी डन्डा लगाउने पक्षमा नरहेको पौडेलले प्रष्ट्याए । ‘अहिले नै कानुनमा कडाइ गरेर पर्यटन व्यवसाय नै तहसनहस पार्ने पक्षमा छैनौं । तर, बिस्तारै परिवर्तन गर्नतिर लागिरहेका छौं,’ उनले भने ।

नेपाल सरकार गृह मन्त्रालयले भने विदेशी नागरिक अध्यागमनमा उल्लेखनीय सुधार गरेको दाबी गरेको छ । मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले अध्यागमन नीति २०७५, विदेशी नागरिक अध्यागमन अनुगमन निर्देशिका समेत कार्यान्वयनमा आइसकेको जानकारी दिए । ‘अध्यागमन ऐन तथा नियामावलीसमेत संसोधन हुँदैछन् । काम गरिरहेका छौं,’ उनले भने ।

पर्यटक नेपाल भित्रिसकेपछि सबैले सकारात्मक काम गर्छन् भन्ने कुरामा गृहमन्त्रालय पनि ढुक्क हुन नसक्ने सुवेदीले स्वीकारे । उनले भने, ‘निषेधित क्षेत्रमा समेत हेलिकप्टर लगेर जाने गरेका पाइएको छ । त्यसलाई अनुगमन तथा नियमन गर्न पनि कार्यविधि आइसकेको छ,’ उनले भने, ‘विदेशी नागरिकको अवैध बसाइ र कामबारे अनुगमन गर्न प्रत्येक प्रदेशतहमा अध्यागमन विभाग खोलिरहेका छौं र कुनैमा खोल्ने तयारी पनि गरिरहेका छौं ।’

सुवेदीले पर्यटकीय ठाउँमा विदेशीको अवैध बसाइ तथा गैरकानुनी कामबारे अनुगमन तथा छड्के चेकजाँच गर्न पनि सुरक्षा निकायलाई आग्रह गरे । उनले स्थानीय तहदेखि सबैले समन्वय गर्न समेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया