कास्की कांग्रेस जिल्ला सदस्यमा ७ जना मनोनित

समाधान संवाददाता २०७८ चैत ५ गते १७:०१

पोखरा ।
नेपाली कांग्रेस कास्कीको जिल्ला कार्यसमिति सदस्य पदमा ७ जना नेताहरु मनोनित भएका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ३ धारा १२ को उपधारा ५ (ख) बमोजिम पार्टी सभापति किशोरदत्त बरालले ७ जना नेताहरुलाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।

Advertisement


सभापति बरालले पार्टी विधानमा उल्लेख भए बमोजिमको अधिकार प्रयोग गरी सदस्य मनोनित गरेको र त्यसलाई शनिबार बसेको पार्टीको पूर्ण बैठकले अनुमोदन गरेको कास्की कांग्रेसका मुख्यसचिव विजयराज अधिकारीले जानकारी दिए ।


जिल्ला सदस्यमा मनोनित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २७ का बाबुराम गिरी, पोखरा–५ का गंगाधर पराजुली, मादी–३ का अर्जुन गुरुङ, पोखरा–१५ का वर्षाकेशव पराजुली, पोखरा–६ की सविना तिमिल्सिना, पोखरा–१० का निर्मला कार्की भण्डारी र पोखरा–२२ की कमला विन्दु बराल छन् ।


बैठकले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानको अनुगमन समिति गठन गरेको छ । समितिमा पार्टी सभापति किशोरदत्त बरालसहित जिल्लाका पदाधिकारीहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेश सभा सभापतिहरु, पालिका सभापति र अग्रज नेताहरु छन् ।

कांग्रेसको जिल्ला अधिवेशन मंसिर २० गते भएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको ४ महिनाभित्रै सभापति बरालले कार्यसमितिलाई पूर्णता दिएका हुन् । यसअघि कार्यकाल सकिन लाग्दा समेत कार्यसमितिमा मनोनीत गर्न बाँकी रहने रोग कांग्रेसमा देखिन्थ्यो ।

Advertisement

जिल्ला कार्यसमितिमा २० प्रतिशत सदस्य सभापतिले मनोनित गर्न पाउने वैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया