कास्कीमा म्यादीमा ४ दिनमै दोब्बर आवेदन

सञ्जय रानाभाट २०७८ चैत १० गते १३:३३

पोखरा ।
वैशाख ३० लाई तय भएको स्थानीय तहको निर्वाचनका लागि कास्कीमा म्यादी प्रहरी बन्न ४ दिनमा दोब्बर आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमार्फत आइतबारदेखि बुधबारसम्म २ हजार ८ सय ७ जनाले दरखास्त दिएको प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले बताए ।


आवेदन दिनेमा महिलाभन्दा पुरुष बढी छन् । ४ दिनमा २ हजार १ सय ७४ पुरुषको आवेदन परेको छ । कस्कीमा म्यादीका लागि ६ सय ३३ महिलाले दरखास्त दिएको अधिकारीले बताए । पहिलो दिन आइतबार नै ५ सय ४९ जनाको आवेदन परेको थियो ।


निर्वाचनका लागि सरकारले कास्कीबाट १ हजार ४ सय ७१ म्यादी प्रहरी मागेको छ । पहिल्यैदेखि उपलब्ध सेना, प्रहरी र सशस्त्रको संख्यालाई समेत दृष्टिगत गरी १ सय ४ सय ७१ जना म्यादी भए पुग्ने निष्कर्षमा कास्कीको जिल्ला सुरक्षा समिति पुगेको हो । कास्कीमा १ सय ५० मतदानस्थल हुनेछन् । गृह मन्त्रालयका अनुसार २०७४ सालको निर्वाचनमा देशभर ९९ हजार ९ सय ५५ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

Advertisement


एक सातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिन्छ । यस पटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनुपर्छ । मापदण्डमा उल्लेख भए अनुसार म्यादी प्रहरीले प्रहरी जवानसरह ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म तलब पाउँछन् । प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत १ हजार र बिमा सुविधासमेत पाउँछन् ।


छनोट समितिले आवेदनबाट योग्य व्यक्ति छानेपछि उनीहरुलाई १ साता तालिम दिइनेछ । तालिम लिएकालाई त्यसपछि काममा खटाइनेछ । कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा म्यादी प्रहरी छनोटका गरिने डिएसपी सुन्दर तिवारीले बताए । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेबाट सुरू हुनेछ ।

Advertisement


२८ चैतमा नतिजा प्रकाशन गरी सोही दिनबाट प्रशिक्षण सुरु हुनेछ । म्यादी प्रहरी भर्ना, छनोट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता लिइने मापदण्डमा उल्लेख छ ।
पूर्व नेपाली सेना तथा पूर्व प्रहरी र विगतमा म्यादी प्रहरीको अनुभव भएकालाई छनोटमा प्राथमिकतामा राखिनेछ । दोस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सुरक्षा निकायमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु छन् । तर उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिलि पेस गर्नुपर्छ ।


आवेदनका दिँदा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सेवा निवृत्त हुँदाको प्रमाण पत्रको प्रतिलिपि (भूपू सुरक्षाकर्मीको हकमा), रु १० को हुलाक टिकट र ५ प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ ।
यसपालि सरकारले म्यादी प्रहरीलाई लठ्ठी किन्ने बजेट कटौती गरेपछि आलोचना भएको छ । यसअघि म्यादीको पोसाक खर्च र लठ्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लठ्ठीको खर्च पोसाककै गाभिएको छ । कतिपय जिल्लामा हजारौं म्यादीको माग छ । म्यादीमा१८ वर्षदेखि ५४ वर्षसम्मका नेपालीले निवेदन दिन पाउँछन् । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले चैत ११ गतेसम्म आवेदन दिन सकिने जानकारी दिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया