भोट चाहिए खानेपानी देऊ

समाधान संवाददाता २०७८ चैत १३ गते १०:०४

माझठाना (कास्की) ।
पोखरा २८ माझठानाको डाँडागाउँमा खानेपानीको अति अभाव छ । गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा ल्यायो । तर, प्रदेश सरकारको यो योजनाले डाँडागाउँलाई छुन सकेन । अझैं पनि खानेपानीका लागि घन्टौं हिँड्नुपर्छ डाँडागाउँका बासिन्दा ।


‘खानेपानीका लागि महानगर प्रदेश जताततै गुहार्‍यौं । तर, खानेपानी आएन,’ स्थानीय जूना सुनारले सुनाइन् । उनी मिलनशील आमा समूहमा पनि आबद्ध छिन् । शनिबार, जुनाले नागरिकसँग संवाद गर्न जुटेका कांग्रेस नेताहरुलाई सुनाइन् । ‘भोटका लागि झूठा आश्वासन नदिइयोस्,’ उनले भनिन् ।


जनतासँग संवाद गर्न जुटेका थिए गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री, पूर्वमन्त्री तथा कांग्रेसी नेता यज्ञबहादुर थापा लगायत कास्की क्षेत्र नम्बर १ का नेताहरु ।

Advertisement


डाँडागाउँबासी रामचन्द्र सुनारको पनि बाँकी समस्या थाती राख्ने हो भने पहिले खड्केको समस्या पानीकै हो । ‘खाल्टे खानेपानीलाई व्यवस्थित बनाइयोस् । यसका लागि पात्लेमा भएको ट्यांकीबाट डाँडागाउँ मोटरबाटो माथि पानी नजाने भएकाले लिफ्टिङ गरेर खानेपानीको व्यवस्था मिलाइयोस्,’ उनले भने ।


टीकाराम लामिछानेको परिवार पनि खानेपानीको समस्याले आजित छ । ‘यहाँको खानेपानीको लागि केन्द्रबाटै बजेट पार्नुपर्छ । यहाँको खानेपानीको समस्या समाधान गरियोस्,’ उनले भने ।

Advertisement


मंगलबहादुर नेपाली नेकपा माओवादी केन्द्र नगर सदस्य हुन् । उनीकहाँ पनि डाँडागाउँका अन्य गाउँलेका जस्तै समस्या छ । त्यो हो खानेपानीको । कांग्रेसको नागरिक अन्तर संवादमा जुटेका नेपालीले डाँडागाउँलेका लागि मुख्य समस्या खानेपानीको रहेको बताए ।

‘यहाँका १ सय ८० घरधुरीलाई खानेपानीको एकदमै समस्या छ । सम्बन्धित निकायले ध्यानै दिएका छैनन्,’ उनले भने । खानेपानीका लागि प्रदेश सरकारसँग माग गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन । खानेपानीका लागि जिआई पाइप ल्याएर समान वितरण हुनुपर्ने उनले सुनाए । छलफलमा सहभागी डाँडागाउँबासीले धेरै त खानेपानीकै सुनाए । बाँकी समस्या थिए । बेरोजगारी र पूर्वाधार विकासका ।


छलफलमा सामेल अमर थापाले जनताको समस्या सुन्न आएका कांग्रेसी नेताहरुलाई व्यक्तिको विकासमा पनि जोड दिन सुझाव दिए । उनले व्यक्तिको क्षमता पहिचान गरी त्यसलाई अर्थोपार्जनमा जोड्नुपर्ने मत राखे । ‘चुनावको मुखमा मात्रै होइन । तपाईंहरुले जनताको पीर, मर्का सधै बुझ्नुपर्छ,’ उनले भने । थापाले जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार निर्माण गर्नुपर्ने माग राखे । विज्ञको सुझावमा मात्रै उनले यस्ता काम गर्नुपर्ने मत राखे ।


जनताका समस्या सुनिरहेका नेता यज्ञबहादुर थापाले जनताका सारा समस्या नजिकबाट बुझेको बताए । कांग्रेसले आफूले पूरा गर्न सक्ने बाचामात्र गर्ने उनको भनाइ थियो । ‘कांग्रेसले पूरा गर्न सक्ने बाँचा मात्रै गर्छ । त्योभन्दा बढी गर्दैन,’ उनले भने ।


डाँडागाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएको भन्दै उनले दुखेसो गरे । ‘कांग्रेसले धेरै काम गरेको छ । यहाँको सडक, पुल निर्माणको सुरुआत कांग्रेसले गरेको हो । हामीले प्रचार गरेनौं, अब प्रचार गर्नुपर्छ,’ उनले भने ।


जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पुर्‍याउन आफूहरु घरदैलोमा आइपुगेको उनले सुनाए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उनको भनाइ थियो । अर्को दलका नेताहरुलाई पनि जनताको समस्या सुन्नका लागि आफूहरुसँगै आए पनि फरक नपर्ने उनले बताए ।


प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताए । कांग्रेस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उनले सुनाए । ‘यो कुरा बोलीमा मात्रै होइन । कसैले बोलीमा मात्र बोल्छ,’ उनले अघि सुनाए, ‘नेपाली कांग्रेसले जे बोल्छ । त्यो पूरा गरेर पनि छाड्छ ।’


डाँडागाउँबासीसँग छफलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उनले बताए । ‘नेपाली कांग्रेसले लुकेर होइन, छिपेर होइन । सँगसँगै बसेर खान्छ, काम गर्छ र तपाईंहरुको समस्यासँग सँगै हुन्छ,’ उनले भने, ‘तपाईंहरुको समस्या कांग्रेसको पनि समस्या हो ।’


कांग्रेसले समस्या सुन्नेमात्र नभई समाधानतर्फ पनि जुट्ने उनले सुनाए । उनले डाँडागाउँबासीलाई आफ्नो मनमा लागेका समस्या निर्धक्क बताउन समेत अनुरोध गरे । उनले जनताका सारा समस्या सुनेर सम्बन्धित निकायसम्म पुर्‍याउने बाँचा समेत गरे ।


नेपाली कांग्रेस कास्की १ का अध्यक्ष राजेन्द्रमणि लामिछानेले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताए । उनले पछाडि परेका समुदायलाई माथि ल्याउन बिपीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले कांग्रेसले नागरिकहरुलाई शिक्षा दिनेदेखि अघि बढाउनका लागि ठूलो भूमिका खेलेको बताए । कार्यक्रममा डाँडागाउँबासीको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले आआफ्ना समस्या सुनाएका थिए । साविक माझठाना गाविसका वडा नम्बर १ र ८ का बासिन्दा कार्यक्रममा भेला भएका थिए ।


खानेपानीको समस्याले आजित डाँडागाउँबासीले आफ्ना समस्याको पोको फुकाए । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि श्रीकृष्ण लामिछानेले कुनै राजनीतिक दल विशेषका कार्यकर्ता भन्दा पनि सर्वसाधारण जनताको भेला आयोजना गरी नेता र जनताबिच सोझो संवाद गरिएको जनाए । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जनताका दैनिक समस्या सम्बोधन गर्ने नीति अनुसार गाउँमै पुगेर जनताका कुरा सुनिएको जानकारी दिए ।


……….
नेपाली कांग्रेस कास्की १ ले पोखरा २८ माझठानाको डाँडागाउँमा राखेको नागरिक संवादका सहभागी । तस्बिर : समाधान

तपाईको प्रतिक्रिया