आजदेखि एसइई परीक्षा सुरु, गण्डकी प्रदेशबाट ४८ हजार १ सय ४६ जना सहभागी

समाधान संवाददाता २०७५ चैत १० गते १२:३३

समाधान संवाददाता
पोखरा

आइतबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४८ हजार १ सय ४६ जना विद्यार्थी सहभागी हुँदै छन् । नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जना विद्यार्थी परीक्षामा सामेल हुनेछन् ।

गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुने गण्डकी प्रदेश सामाजिक शैक्षिक योजना तथा महाशाखाका उपसचिव दामोदर सुवेदीले बताए ।

Advertisement

उनका अनुसार सबभन्दा धेरै कास्कीबाट ३२ परीक्षा केन्द्रमा १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागी हुनेछन् । त्यसैगरी सबैभन्दा कम हिमाली जिल्ला मनाङबाट ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

स्याङ्जाका ३३ केन्द्रबाट ५ हजार ९ सय ३९ जना, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरका २४ केन्द्रबाट ६ हजार ६ सय ४४ विद्यार्थी, मुस्ताङको १ केन्द्रबाट १ सय ५६ जना विद्यार्थी सहभागी हुनेछन् ।
म्याग्दीका ९ केन्द्रबाट २ हजार २ सय ७३ जना, बाग्लुङका ३१ बाट ५ हजार ५ सय ४८, तनहुँका २४ बाट ६ हजार ३ सय ५७ विद्यार्थी, लमजुङका १८ केन्द्रबाट २ हजार ९ सय ९०, गोरखाका २५ केन्द्रबाट ४ हजार ४ सय २१, पर्वतका १९ केन्द्रबाट २ हजार ८ सय १४ विद्यार्थी सहभागी हुनेछन् ।

Advertisement

शैक्षिक सत्र २०७५ को एसइई परीक्षाका लागि देशभरबाट कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुँदै छन् । एसइईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएकोे माध्यमिक शिक्षा परिषदका प्रमुख विष्णुप्रसाद अधिकारीेले जानकारी दिए ।

गत वर्षभन्दा एसइई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीको भनाइ छ । यस वर्षको परीक्षामा २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा सहभागी हुँदै छन् ।

परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष एसइई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी थिए ।

तपाईको प्रतिक्रिया