४ साहित्यकारलाई शुक्ला साहित्य पुरस्कार

समाधान संवाददाता २०७८ चैत २८ गते १४:५१

पोखरा l
शुक्ला साहित्य संगमले ४स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा साहित्यकार रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार, कवि अनिल श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्ला प्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण–शुक्ला बाल प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

सम्मानित कवि श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । कार्यक्रममा गजलकार जनार्दन दाहालको तेस्रो गजल संग्रह ‘यी मान्छे, यी नजर’ सार्वजनिक गरियो । साहित्यकार सरुभक्तले कृति लोकार्पण गरे ।
शुक्ला साहित्य संगमले तनहुँको साहित्यिक फाँटमा महत्वपूर्ण योगदान पुर्याएको साहित्यकार सरुभक्तले बताए । उनले गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक व्यक्तित्वबाट पनि आफू प्रभावित भएको सुनाए ।

समीक्षक रुपिन्द्र प्रभावीले दाहालको ‘यी मान्छे, यी नजर’का गजल गेय गुणले युक्त भएको बताए । समसामयिक धाराका प्रतिभाशाली गजलकारका रूपमा दाहाललाई संग्रहले स्थापित गर्ने उनको भनाइ छ । ‘जनार्दन दाहाल जीवन र जगत्का विसंगतिलाई शालीन प्रहार गर्ने गजलकार हुन्’ प्रभावीले भने, ‘शास्त्रीय बहरमा पनि गजल लेख्ने रहर कृतिमार्फत् देखाए पनि स्वनिर्मित लयविधानमै लेखिएका उनका गजलहरू सशक्त छन् ।’ मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ गजल छन् ।
यसअघि दाहालका २०६३ मा ‘मधुरिमा’ र २०६४ मा ‘उद्वेलित मनहरू’ गजल संग्रह प्रकाशित छन् । २०६४ मा ‘कविको मृत्यु’ कविता संग्रह पनि पाठकसामु ल्याएका उनको ‘यी मान्छे, यी नजर’ चौथो कृति हो । झापाको अर्जुनधारामा जन्मेका गजलकार दाहाल विगत २ दशकदेखि तनहुँको दुलेगौँडामासाहित्य र शिक्षाका क्षेत्रमा क्रियशील छन् । उनी शुक्ला साहित्य सङ्गमका पूर्व अध्यक्षसमेत हुन् ।
संगमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा नारायण श्रेष्ठ, आनन्दसुन्दर श्रेष्ठ, टुकादेवी आचार्य, आकाश अधिकारी, सहसचिव सुरज लम्साल, सदस्य युवराज पौडेल, पञ्चमुनिदेव माविका प्रधानाध्यापक ध्रुवकुमार मल्ल, संस्थाका संरक्षक शेषमणि आचार्य र सल्लाहकार मोती पौडेलले बोलेका थिए ।

Advertisement

सोही अवसरमा सम्पन्न १ सय ८० औँ नियमित काव्य शृंखलासमेत भएको छ । समारोहमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देल, आकाश अधिकारी, जुनु खड्का, टुकादेवी आचार्य, जीवन सागर, टीकाराम पौडेल र शेषमणि आचार्यलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया