महर्षि गुरुकुलमा ध्यान शिविर समापन

समाधान संवाददाता २०७८ चैत २९ गते १४:१२

पोखरा l
पोखरामा सञ्चालित ५ दिवसीय भावातीत ध्यान शिविर सकिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन काठमाडौं र महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानको संयुक्त आयोजनामा सञ्चालित शिविर सोमबार सकिएको हो । ध्यान, योग र यज्ञका माध्यमबाट नै विश्वलाई शान्त पार्न सकिन्छ भन्ने हेतुले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

Advertisement


ज्येष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको ध्यान शिविरमा युवा पुस्तासमेत गरी १९ जना सहभागी थिए । विश्वमा नेपालले मात्र शान्तिको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइलाई साकार पार्नका निमित्त ध्यान, योग र रुद्राभिषेक यज्ञ सञ्चालन गरी कार्यक्रमलाई निरन्तरता दिइएको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए ।


भावातीत ध्यानले पार्ने प्रभाव, मानसिक रोगको निवारण तथा सामूहिक चेतनाले विश्वमा पार्ने प्रभावको बारेमा चर्चा गर्दै भावातीत ध्यान तथा सिद्धि प्रशिक्षिक शिवप्रसाद उपाध्याय (पौडेल)ले शिविरमा दिइएको ज्ञानलाई शक्तिमा बदल्ने गरी कार्यान्वयन गर्न आग्रह गरे । महर्षि गुरुकुल वेद विद्याश्रम अध्यक्ष रामचन्द्र पौडेलले फाउन्डेसनले सुरु गरेको कार्यमा सहभागिता जनाएर पाएको ज्ञान सदुपयोग गर्न आग्रह गरे ।


आध्यात्मिक संसारसँगै भौतिक संसारमा सहज ढंगले जीवन यापन गर्नका लागि ध्यान र क्रियाको सुव्यवस्थित तरिका प्रयोग गर्न सबैलाई भावातीत ध्यान शिक्षक वीरेन्द्र सापकोटाले आग्रह गरे । विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक तथा वडा नं. ३ पोखराका पूर्व अध्यक्ष गोविन्दध्वज श्रेष्ठ, विद्याश्रमका सचिव शान्तिदेवी पराजुली, सहभागी कमला पौडेल, हरिहरप्रसाद पराजुली, शिव भट्टराई लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया