चेतनलाई राष्ट्रिय मुक्तक पुरस्कार

समाधान संवाददाता २०७८ चैत ३० गते १२:४२


पोखरा l
राष्ट्रिय मुक्तक पुरस्कार २०७८ बाट चेतन कार्कीलाई मरणोपरान्त सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार सरुभक्तको संयोजकत्वमा सूर्य खड्का ‘बिखर्ची’ र सरस्वती श्रेष्ठ ‘सरू’ सदस्य तथा अध्यक्ष रामजीप्रसाद आचार्य र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको कार्कीलाई सम्मान गर्न सिफारिस गरेकोह हो ।


मुक्तक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा कार्कीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिइयो । नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदान दिने प्रतिभालाई प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि २२ हजार २ सय २२, ताम्रपत्र र दोसल्ला छ ।


यो पुरस्कार मुक्तक मञ्च केन्द्रीय समितिद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित हो । नेपाली मुक्तक लेखनको प्रारम्भदेखि समकालीन मुक्तक लेखनमा सक्रियतासहित विशिष्ट योगदान गरेका कार्की नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा मुक्तककार हुन् । उनको जन्म स्याङ्जाको बहाँटारी, थुम, आरुखर्कमा भएको थियो ।
उनी दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन् । उनका शब्दमा नेपालका स्थापित गायक गायिका नारायणगोपाल, तारादेवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन् ।

Advertisement


सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा, सरुभक्त र तेजनाथ घिमिरे सम्मानित भइसकेका छन् । १९९५ कात्तिक २२ मा जन्मिएका कार्कीको २०७८ जेठ २ मा निधन भएको थियो । सोही अवसरमा आयोजित मञ्चको नियमित मुक्तकवाचनमा चार दर्जनभन्दा बढीले आफ्ना रोज्जा मुक्तक सुनाएका थिए । कार्यक्रम मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया