आयोगलाई ढाँटेर खर्च विवरण पेस गरेंः सभामुख अधिकारी (भिडिओसहित)

सञ्जय रानाभाट २०७८ चैत ३० गते १९:५३

सञ्जय रानाभाट
पोखरा

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको चुनाव लड्दा ढाँटेर खर्च विवरण पेस गरेको खुलासा गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मंगलबार आयोजित मानव अधिकारका विषयमा पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न सरोकारहरुको भूमिका विषयक कार्यक्रममा अधिकारीले उक्त खुलासा गरेका हुन् ।


सभामुख अधिकारीले ढाँटेर चुनाव खर्च पेस गर्न बाध्य भएको स्वीकारे । ‘मैले निर्वाचन आयोगमा खर्च विवरण बुझाउँदा भनेको थिएँ—मैले यो जे लेख्दै छु । त्यो एकदम ढाँट्दै छु । यो सत्य कुरा हो । तपाईंहरुले पाउनु हुँदैैन मैले जे लेखेको छु,’ अधिकारीले भने ।


गण्डकी प्रदेशकै नवलपुरबाट निर्वाचित संघीय सांसद शशांक कोइरालाले २०७४ को चुनावमा ६ करोड खर्च भएको हालै खुलासा गरेका थिए । सभामुख अधिकारीले कोइरालाले गरेको खुलासाको प्रसंगसमेत उप्काउँदै आफ्नो बाध्यता पनि कहेका हुन् । ढाँटेर चुनाव खर्च विवरण पेस गरेको भने पनि अधिकारीले कति खर्च गरेको र कतिको विवरण बुझाएको भन्नेचाहिँ खुलाएनन् । २०७४ सालमा निर्वाचन आयोगले प्रदेश सभा सदस्यका उम्मेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

Advertisement


अधिकारीले पनि चुनावमा आचारसंहिता बाहिर गएर खर्च गर्नुपर्ने परिस्थिति सिर्जना हुँदै गएको बताए । ‘चुनाव खर्च बढ्दै जानु सामान्य आवाज हैन । यो अहिलेका जनप्रतिनिधिहरुको पनि आवाज हो,’ अधिकारीले भने । गण्डकी प्रदेशबाट अधिकारी २०७४ सालमा पर्वत जिल्लाको निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट प्रत्यक्ष निर्वाचित हुन् । उनले कांग्रेसका नवराज गुरुङलाई पराजित गरेका थिए ।

‘आयोगमा खर्च विवरण बुझाउँदा भनेको थिएँ—मैले यो जे लेख्दै छु, त्यो एकदम ढाँट्दै छु’

Advertisement


कार्यक्रममा सभामुख अधिकारीले नागरिकको चेतना र कल्चरका कारण चुनाव खर्च ६ करोड हुँदै अझै माथि पुग्ने विचार राखे । ‘६४ सालको चुनावमा पार्टी कमजोर भएर हैन, ६४ बाट ७० र ७० बाट ७४ आउँदा ६ करोड खर्च भएको पार्टी कमजोर भएर हैन, हाम्रो कल्चर र चेतना कुन ढंगले विकास भयो भन्ने हो,’ अधिकारीले भने ।


निर्वाचन आयोगले तोकेभन्दा बढी खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको उनको भनाइ थियो । ‘वडाध्यक्षहरु उठ्दा खेरी वा वडाध्यक्षहरुले हिजो जित्दा खेरी कति रुपैयाँ खर्च गर्नुभयो ? कति रुपैयाँ उहाँहरुले पाउनुहुन्थ्यो के सबैले सत्य बुझाएका छन् त ? अधिकारीको प्रश्न थियो ।


कार्यक्रममा सभामुख अधिकारीले नागरिकको कल्चर र विचारकै कारण चुनाव खर्च बढ्दै गएको दाबी गरे । ‘पार्टी कार्यकर्तामा कुन ढंगले विकास भयो जसले भोट हाल्थे । त्यही बोकेर हिँड्थे, मलाई लाग्छ यो जुन टाइपको ढंगले विकास हुँदै गएको छ यो खर्चिलो छ,’ उनले भने । उनले आउँदा दिनहरुमा मानव अधिकारको संरक्षण गर्न र नागरिकका गुनासाहरु कार्यान्वयन गर्न जटिल बन्दै गएको बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया