लोेक दोहोरी प्रतिष्ठानको भित्तेपात्रो सार्वजनिक

समाधान संवाददाता २०७९ वैशाख ४ गते १२:२४

पोखरा l
नयाँ वर्ष २०७९ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नयाँ वर्ष २०७९ को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले लोक संस्कृतिको जगेर्ना र प्रतिष्ठानको संस्थागत विकासमा सबै कलाकार एकजुट हुनुपर्ने बताए । ‘निर्वाचनको बेलामा आउने र पदको लागि तछाडमछाड गर्ने प्रवृत्तिले संस्था अझै बलियो बन्न सकेको छैन,’ उनले भने, ‘पद पाएरमात्र हुँदैन । जिम्मेवारी पूरा गर्नु पर्छ । तबमात्र संस्था बन्छ ।’

Advertisement

कलाकार कल्याणकारी कोषका संरक्षकसमेत रहेका पराजुलीले लोक तथा दोहोरी गीत क्षेत्रको विकृति र विसंगतिलाई हटाउँदै जानुपर्नेमा जोड दिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानलाई बलियो बनाउन सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । दोहोरी प्रतियोगितामा गीत गाएर पनि स्थापित कलाकार बन्न सकिने उल्लेख गर्दै उनले गायक गायिकाले जति बढी शब्द खेलाउन सक्यो, त्यति माझिने बताए ।


प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले संस्थालाई चलायमान बनाउन नियमित रुपमा गतिविधि आवश्यक भएको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिले आयोजना गरेको टुबोर्ग दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट महिला गायिका अर्चना चापागाई लगायत प्रतिष्ठान कास्कीको तर्फबाट विभिन्न प्रतियोगितामा सहभागी कलाकारहरु कृष्णप्रसाद भट्टराई, अरुण लामिछाने र शान्ति कार्कीलाई सम्मान गरिएको थियो ।


भित्तेपात्रो प्रकाशनक लागि सबै भन्दा बढी आर्थिक संकलन गर्ने प्रतिष्ठान कास्की सदस्य रचीत पौडेललाई दोसल्ला ओढाएर सम्मान गरियो । समारोहमा भित्तेपात्रो प्रकाशन समितिका संयोजक तथा प्रतिष्ठानका कार्य समितिका सदस्य प्रकाश बरालले भित्तेपात्रो प्रकाशनको लागि १ लाख ५७ हजार सहयोग जुटेकोमा ४० हजार खर्च कटाएर १ लाख १७ हजार बचत भएको जानकारी दिए ।


कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक जीवन दाहाल, प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य तथा गण्डकीका पूर्व अध्यक्ष तारापति सुवेदी, कास्कीका अध्यक्ष टेक क्षेत्री, वरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुवेदी, सचिव माधव चापागाई, सल्लाहकार नीलकण्ठ आचार्य लगायतले लोक दोहोरी क्षेत्रका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया