आमाको स्मृतिमा अक्षयकोष

समाधान संवाददाता २०७९ वैशाख ९ गते १२:२३

पोखरा l
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका लागि बिहीबार एक दाताले १ लाख ५ हजार ५सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आमा विजयलक्ष्मी गुरुङको सम्झनामा स्याङ्जा दरौं शिरुबारी माझकटेरी घर भई हाल बेलायत निवासी कान्छा छोरा सञ्चय गुरुङ र बुहारी पुष्पाले सो अक्षयकोष स्थापना गरेका हुन् ।

Advertisement

नयाँ वर्ष २०७९ को अवसरमा प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदानप्रदान तथा नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक कार्यक्रममा सञ्जयले उक्त रकम प्रतिष्ठानलाई प्रदान गरे । सञ्जयको परिवार पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँगाउँ मिलनचोक बसोबास गर्छ । दाता गुरुङले हरेक वर्षको जन्म दिनमा प्रतिष्ठानको लागि ५० स्टलिङ पाउन्ड पठाउने जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले लोक संस्कृति जगेर्ना र प्रतिष्ठानको संस्थागत विकासमा सबै कलाकार एकजुट हुनुपर्ने बताए । उनले स्थानीय तहका निर्वाचनमा उम्मेद्वारी पाउन कलाकार एक हुनुपर्ने उल्लेख गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानलाई बलियो बनाउन सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्नुपर्ने बताए ।

प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले पालिका स्तरमा लोक संस्कृतिको पठनपाठन गर्न माग गरे । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिले आयोजना गरेको टुबोर्ग दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायक सुमन खड्कालाई सम्मान गरियो ।

कार्यक्रममा प्रतिष्ठान गण्डकीका प्रथम उपाध्यक्ष केशव देवकोटा, सचिव राजन कार्की लगायतले लोक दोहोरी क्षेत्रका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया