सामाजिक व्यक्तित्वहरु सम्मानित

पोखरा l
विधागत क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नन्द इन्टरटेन्टमेन्ट हाउसले शनिबार विभिन्न व्यक्तित्वलाई सोसल आइडल अवार्ड सिजन २ बाट सम्मान गरेको छ । अंग्रेजी नेपाली साक्षरता अभियान नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा राजनीतिज्ञ शारदा पौडेल, पर्यटन व्यवसायी इन्दिरा पौडेल, महिला उद्यमी रामकली खड्का, शिक्षा क्षेत्रबाट इन्जिनियर किरण केसी र स्वास्थ्य क्षेत्रबाट डा नारायण गुरुङ र ठाकुर पन्तलाई सम्मान गरेको हो ।
कार्यक्रममा साहित्यकार भीम रानाभाट, पत्रकार श्याम कुँवर, उद्यमी सुमन श्रेष्ठ, तेस्रो लिंगी आनिक रानमगर, जनप्रतिनिधि राधिका शाही योगी, आमा समूहका प्रतिनिधि सविता श्रेष्ठ, समाजसेवी दुर्गा बस्नेत, जनप्रतिनिधि टीका छिनाल, उद्यमी अम्बिका खत्री, साहित्यकार चन्द्रावती वाग्ले, स्टाफ नर्सहरु गीता जोशी र निलम महर्जनलाई विधागत क्षेत्रको अवार्ड प्रदान गरिएको अंग्रेजी नेपाली साक्षरता अभियान नेपालका अध्यक्ष अध्यक्ष डा यामबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले सामाजिक अभियन्ताको योगदानले देशको प्रतिष्ठा माथि उठेको बताए । उनले देशको शिर उचो बनाउन र प्रतिष्ठालाई जोगाउने गहन जिम्मेवारी अभियन्ताको भएको उल्लेख गरे । ‘शिक्षाले नम्र, अनुशासित र लगनशील बनाउन सिकाउँछ,’ उनले भने, ‘शिक्षा आर्जन गर्ने वित्तिकै पैसा कमाउन खोज्ने प्रवृतिको अन्त्य नगरेसम्म समग्र शैक्षिक क्षेत्रलाई सुधार गर्न सकिन्न ।’ उपकुलपति अर्यालले सामाजिक क्षेत्रको अभियानले शैक्षिक क्षेत्रको सुधारको लागि सहयोग पुगेको बताए ।
संविधान सभाका सदस्य शारदा पौडेलले सामाजिक सेवा गरेका व्यक्तिलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताइन् । उनले सामाजिक काम गर्न नसक्ने व्यक्तिले राजनीति गर्न नसक्ने टिप्पणी गरिन् । कार्यक्रममा प्रतिभा छनोट समितिका अम्बिकाप्रसाद भट्टराई, नन्द इन्टरटेन्टमेन्ट हाउसका प्रबन्ध निर्देशक देवेन्द्र शाही, ओम गुरुङ, शिवराज न्यौपाने, उमेश मगर लगायतले सामाजिक क्षेत्रको बारेमा बोलेका थिए । कार्यक्रममा कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया