स्वदेशमै रोजगारी बढाऊ

समाधान संवाददाता २०७५ चैत १३ गते ९:२१

नेपालमा रोजगारमूलक शिक्षा पद्धति नै भएन । विश्वविद्यालयहरु बर्सेनि बेरोजगार उत्पादन गरिरहेका छन् । शैक्षिक योग्यताको प्रमाणपत्र हातमा परे पनि अब कता लाग्ने भन्ने दुविधा हुन्छ । कारण, उनीहरुसँग सीप छैन । सीप नै नभएपछि शैक्षिक प्रमाणपत्रको के काम भो र ? लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्ने, लाग्छ भने भनसुन गरेर सानोतिनो जागिरमा झुण्डिने, अन्तिम विकल्प त छँदैछ, वैदेशिक रोजगार । हो, अहिले ५६ लाख ६९ हजार परिवारमध्ये आधा भन्दा बढी परिवारको आर्थिक अवस्था वैदेशिक रोजगारीले नै धानेको छ । विदेश गएकाहरुले पठाएको रकम अर्थात् रेमिट्यान्सले नै झण्डै ३२ लाख परिवारको दैनिकी चलेको छ । २० वर्षअघि ४२ प्रतिशत नेपाली गरिवीको रेखामुनि रहेकोमा अहिले त्यो संख्या २५ प्रतिशतमा झर्नुमा रेमिट्यान्सको उल्लेख्य योगदान छ ।

मुलुकको आर्थिक वृद्धिदर रेमिट्यान्समै भर परिरहेका बेला नेपाल र जापान सरकारबीच श्रम भिसामा दक्ष नेपाली कामदार जापान लैजाने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार जापानले १४ वटा क्षेत्रमा नेपाली दक्ष कामदार लैजाने भएको छ । कामदारले जापानी नागरिकसरह र क्षमता अनुसार त्यहाँका नागरिकले भन्दा बढी सेवा, सुविधा पाउनेछन् । अप्रिल १ देखि सहमति कार्यान्वयनमा आउनेछ । ‘सीप’ र ‘उच्च सीपयुक्त’ कामदार मात्रै जान पाउने सहमतिपत्रका उल्लेख छ । सम्बन्धित कार्यक्षेत्रमा अनुभव भएकालाई सीप र उच्च तहको अनुभव भएकालाई उच्च सीपयुक्त कामदारमा वर्गीकरण गरिएको छ । जापानको श्रमबजारमा श्रमशक्तिको अत्यन्त्र अभाव भएपछि त्यहाँको सरकारले ५ वर्षमा ३ लाख ४२ हजार विदेशी श्रमिकलाई रोजगारी दिने निर्णय गरिसकेको । दक्षिण एसियाका मुलुकमध्ये नेपालबाट मात्र जापानले श्रमिक लैजाने बताएको छ ।

सरकार एकातिर वैदेशिक रोजगारीलाई कम गर्दै जाने भन्छ । अर्कोतिर विदेशी मुलुकसँग श्रम सम्झौतामा सहमति गरिरहन्छ । यो व्यवहारले नेपालले जनसांख्यिक लाभ लिन पक्कै सक्दैन । हो, तत्कालका लागि हेर्दा रेमिट्यान्स आर्थिक समृद्धिको सूचक बनेको छ । तर दीर्घकालीन रुपमा यसको असर सकारात्मक हुनै सक्दैन । गाउँघर रित्तिँदै जाने, खेतबारी बाँझै हुने अनि युवाहरु विदेश पलायन हुने यो प्रवृतिले सरकारले भनेजस्तो समृद्धि कसरी आउनसक्छ । सरकारले जापानसँग सहमति गर्नु अघि देखिनै सहरबजारका ल्याङ्वेज सेन्टरहरुमा जापानी भाषा सिक्नेको ताँती लागेको छ । तर सीप सिक्नतिर उनीहरुको ध्यान पुगेको छैन । अनि विदेश गएर फर्केकाहरुमध्धे निकै कमले मात्र उताको सीप ल्याएर स्वदेशमा प्रयोग गरेका छन् । वैदेशिक रोजगारीको निर्भरताले आन्तरिक रोजगारी वृद्धि नहुने, उत्पादनशील क्षेत्रको विकास नहुने, अर्थतन्त्रको दीर्घकालीन स्थायित्वमा असर पार्ने विभिन्न अध्ययनले देखाइसकेका छन् । युवाले विदेशिनतिर ध्यान दिनुमा सरकारको अदूरदर्शिता नै मुख्य कारण हो । राजनीतिक स्थिरता कायम गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न ढिला भइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया