म्याग्दीमा भएन गठबन्धन

समाधान संवाददाता २०७९ वैशाख १३ गते १४:२२

राकेश शर्मा l
म्याग्दी l

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच म्याग्दीमा पूर्ण रुपमा चुनावी तालमेल नहुने भएको छ । भागबण्डामा सहमति नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक्ला एक्लै उम्मेद्वारी दर्ता गराएका छन् ।

बेनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट पार्टी पूर्व सचिव चिरञ्जीवी शर्मा, नेकपा एमालेबाट पार्टी जिल्ला सचिव सुरत केसी र माओवादी केन्द्रबाट धनिलाल जैसीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा कांग्रेसबाट अमृतदेवी बानियाँ, एमालेबाट पशुपति शाही र माओवादी केन्द्रबाट ज्योति लामिछानेको उम्मेदवारी परेको छ । रघुगंगामा कांग्रेसबाट अध्यक्षमा भवबहादुर भण्डारी, एमालेबाट प्रमेबहादुर कार्की, माओवादीबाट मिना विकले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा कांग्रेसाट प्रेमकुमारी पुन, एमालेबाट यामकुमारी गर्बुजा र माओवादीबाट रिम कुटवाल उम्मेदवार बनेका छन् ।

Advertisement

मालिका गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा श्रीप्रसाद रोका, एमालेबाट वेगप्रसाद पुन, माओवादीबाट सुबिन जुग्जालीले मनोनयन दर्ता गराए । उपाध्यक्षमा क्रमशः पीपला बुढा, लक्ष्मीदेवी पुन, गौरी सेञ्चुरी मैदानमा छन् ।

मंगलाको अध्यक्षमा कांग्रेसबाट वीरेन्द्र बुढाथोकी, एमालेबाट सतप्रसाद रोका र माओवादीबाट टेकबहादुर विक छन् । उपाध्यक्षमा क्रमशः शर्मिला थापा, पेमा अधिकारी र सुकमाया रोकाले मनोनयन दर्ता गरेका छन् ।

Advertisement

अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा बलबहादुर तिलिजा, एमालेबाट भरत पुनले दर्ता गराएका छन् । उपाध्यक्षमा कांग्रेसबाट ललिता तिलिजा पुन र एमालेबाट दिवा पुन रहेका छन् । यस पालिकामा माओवादीलाई २ वडा सदस्य दिएर कांग्रेस र माओवादीको तालमेल भएको छ ।

धवलागिरी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट अध्यक्षमा प्रेम पुन र उपाध्यक्षमा रेशम पुन तथा एमालेबाट अध्यक्षमा थमसरा पुन र उपाध्यक्षमा प्रगति कार्कीले मनोनयन दर्ता गराएका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा दलहरु एक्लै प्रतिष्पर्धामा गएका छन् । बेनी नगरपालिकाको वडा नंं ६, २, ८, ९ र १ नम्बर वडामा गठबन्धन भएको छ । जिल्लाका सबै वडामा ठूला दलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा बेनी नगरपालिमा धनबहादुर श्रीषले मेयरमा र रघुगंगा गाउँपालिकाको अध्यक्षमा सागर भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया