जापानी ब्रान्डको ‘इसुजु सिंगल क्याब’ गाडी पोखरामा

समाधान संवाददाता २०७५ चैत १३ गते १२:१०

समाधान संवाददाता

पोखरामा जापानी ब्रान्ड इसुजु गाडीको नयाँ मोडल बिक्री सुरु भएको छ । रेज मोटर्स प्रालिले नयाँबजार पोखरा सोरुमबाट सिंगल क्याब डि म्याक्सको बिक्री सुरु गरेको हो । पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले सो गाडीको लञ्च पछि बोल्दै ब्रान्डेड गाडीको पोखरामा बिक्री शुभारम्भ हुनु सुखद् भएको प्रतिक्रिया दिए ।

इसुजुको सिंगल क्याब डि म्याक्स गाडीको बुकिङ तथा बिक्री सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए । सो गाडीको बजार मूल्य २४ लाख ९० हजार तय गरिएको उनले बताए ।

Advertisement

‘जापानमै इन्जिन उत्पादन हुने इसुजुको गाडी पोखरामा भित्राउन पाउँदा खुसी छौं,’ उनले भने, ‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी थिम लिएर बिक्री थालिएको हो ।’

२ हजार ५ सय सिसी क्षमताको इन्जिन भएकोले गाडी अफरोडमा समेत अत्यन्तै सहज तरिकाले उपयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ । आरामदायी जीपको जस्तो क्याबिन भएकोले पछाडीको भाग अर्थात् डेक मिनी ट्रकको आकारमा उपलब्ध हुनाले सामान ढुवानीमा समेत प्रयोगमा आउनेछ ।

Advertisement

सिंगल क्याब डि म्याक्स डेकको लम्बाइ ८ फिट र चौडाइ ५.५ फिट छ । ‘कच्ची बाटोमा समेत सामानसहित गुड्न सक्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो गाडी निकै उपयुक्त छ,’ प्रबन्धक निर्देशक चालिसेले भने, ‘बिक्री पछिको सेवाका लागि पनि कम्पनीले विशेष व्यवस्था गरेको छ ।’

रेज मोर्टसले पोखराबाटै इसुजुकै डबल क्याबिनयुक्त गाडी समेत बिक्री गर्ने भएको छ । हाई इन्जिन क्षमता भए पनि अरु गाडीको तुलनामा निकै सस्तो मूल्यमा उपलब्ध गराइने भएको कम्पनीले दाबी गरेको छ । सामानसहित परिवार अट्ने डबल क्याबिन इसुजुको मूल्य नेपाली बजारमा ४१ लाख रुपैयाँ पर्ने छ ।

यसैगरी इसुजु मक्सको पनि रेज मोर्टसले पोखराबाट बिक्री थालेको छ । ७ सिट क्षमताको ग्राउन्ड क्लियरेन्स २ सय २५ एमएम भएको गाडीमा अटो गियरको सुविधा छ । जसको बजार मूल्य १ करोड २७ लाख रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले हाल बजारमा ल्याउने गाडीहरु स्प्लयास ह्वाइट, टाइटेनियम, अब्सिडियन ग्रे र अर्किड ब्राउन गरी ४ कलरमा उपलब्ध हुनेछन् ।

पोखरामा सोरुम खुलेको १५ महिनाको अवधिमा इसुजु ब्रान्डका विभिन्न मोडलका ७५ भन्दा बढी गाडी बिक्री भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया