३ वर्षभित्र औलो निवारण गर्ने योजना

पोखरा l
नेपालले सन् २०२५ सम्ममा औलो निवारण गर्ने योजना बनाएको छ । नेपाल औलो रणनीति योजना २०१४–२०२५ अनुसार आगामी ३ वर्षमा नेपालमा औलो निवारण गर्ने पकिल्पना अगाडि सारेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
विश्व औलो दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा उनले परिकल्पना कार्यान्वयन गर्ने क्रममा सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा झार्ने र त्यसलाई कायम राखिने बताए । ‘औलोलाई शून्यमा झार्न परीक्षण दर बढाउनु पर्छ । लगातार ३ वर्ष स्थानीय औलो छैन,’ निर्देशक खड्काले भने, ‘रणनीति योजना अनुरुप सन २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ ।’
उनले आर्थिक वर्ष २०७७÷२०७८ मा नेपालमा स्थानीय औलोका बिरामी ६६ भए पनि गण्डकी प्रदेशमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा स्थानीय औलोलाई शून्यमा झारेको जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ मा नेपालमा आयातीत ३ सय ११ औलोका बिरामीमध्ये गण्डकी प्रदेशमा १२ जना थिए ।
नेपाल राष्ट्रिय औलो नियन्त्रण कार्यक्रमले सन २००७ मा पहिलो पटक पञ्च वर्षीय राष्ट्रिय औलो नियन्त्रण रणनीति तयार गरी सोही अनुरुप कार्यक्रम लागू गरेको थियो । विश्व स्वास्थ्य संगठनको विश्व औलो नियन्त्रण कार्यक्रम र दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि परिवर्तित औलो नियन्त्रण २००७–२०१० मा आधारित रही सोही अनुसार कार्यक्रम सञ्चालन हुँदै आएको छ । निर्देशक खड्काले २०१४–२०२५ रणनीति योजना तयार गरी कार्यक्रम कार्यान्वयन गर्दै आएकोमा सन् २०१७ मा गरिएको मध्यावधि समीक्षाको प्रतिवेदन अनुसार शंकास्पद बिरामी परीक्षण तथा उपचार, बिरामी तथा जोखिम क्षेत्रको निगरानी, प्रतिकार्य लगायतका कार्यमा विशेष जोड दिइएको जानकारी दिए ।
सन् २०२५ सम्ममा औलो निवारण गर्न रणनीति योजनालाई सन २०२०मा अद्यावधिक गरेको जानकारी दिए । उनले औलो निवारणका लागि शंकास्पद बिरामीको परीक्षणको दर बढाउनुपर्नेमा जोड दिए ।
संक्रामक तथा सरुवा रोग अस्पतालका डा अशोक तिवारीले नेपालको जनस्वास्थ्यको पहिलो कार्यक्रम औलो निवारण भएको जानकारी दिए । जलवायु परिवर्तनका कारण पछिल्लो अवधिमा हिमाली जिल्लामा समेत औलो रोग देखा पर्नु औलो निवारणको चुनौति भएको बताए । पछिल्लो समयमा औलोको परीक्षण गर्न जानेको संख्या कमि हुँदै गएको उल्लेख गर्दै उनले सबै शंकास्पद औलोको बिरामीको रक्त परीक्षण भएको सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय महाशाखाका प्रमुख डा नारायण श्रेष्ठले नेपालका ७ प्रदेशमध्ये गण्डकीले हालसम्म स्थानीय औलोलाई शून्यमा राख्न सफल भएको जानकारी दिए । सेभ द चिल्ड्रनका प्रतिनिधि हेमराज पौडेलले विदेशबाट आयातीत औलोलाई शून्यमा झार्न नसकिने उल्लेख गरे ।
स्वास्थ्य निर्देशनालय गण्डकीका औलो रोग निवारणका फोकल पर्सन सुशीला कार्कीले स्वास्थ्य कार्यालय कास्की र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा सेभ द चिल्ड्रेनकाे प्राविधिक सहयोगमा सरकारी तथा निजी अस्पतालमा ज्वरो आएका बिरामीको औलो खोज पड्ताल सर्वेक्षण गरेको जानकारी दिइन् । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको हो ।
तपाईको प्रतिक्रिया