पोखराका वडामा गठबन्धन अनुसार छिटो उम्मेदवारी मिलाउन माओवादी आग्रह

समाधान संवाददाता २०७९ वैशाख १५ गते १८:०६

पोखरा
नेकपा माओवादी केन्द्रले पोखरा महानगरमा सत्ता साझेदार दलहरु बिच निरन्तर वार्ता र छलफल भइरहे पनि गठबन्धनमा रहेका दलहरुको आ–आफ्नो अडानका कारण कुनै निष्कर्षमा पुग्न नसकेको बताएको छ । उसले गठबन्धनको मुख्य साझेदार कांग्रेसप्रति शंका पनि जताएको छ ।

Advertisement


माओवादी पोखरा महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरीले बिहीबार विज्ञप्ति जारी गर्दै गठबन्धनका लागि उम्मेदवारको मनोनयन फिर्ता लिने समय ख्याल गर्न आग्रह गरेका छन् । निर्वाचन तालिका अनुसार १६ गते उम्मेदवारको मनोनयन फिर्ता लिने दिने हो ।


गिरीले नेपाली कांग्रेसले गठबन्धनको मर्म र औचित्य विपरीत पोखरा महानगरका ३३ वटै वडामा एकल प्यानलको उमेदवारी दर्ता गरी अगाडि बढेपछि गठबन्धनमा रहेका अन्य राजनीतिक पार्टीहरुले पनि बाध्य भएर महानगरका सबै वडामा उमेदवारी दर्ता गर्नुपरेको बताएका छन् ।


‘केन्द्रीय गठबन्धनको मूल मर्म विपरीत नेपाली कांग्रेसले महानगरका सबै वडाहरुमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने गरी गरिएको उमेदवारी मनोनयनले गठबन्धनप्रतिको प्रतिवद्धतामा गम्भीर आशंका पैदा गरेको छ । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) गठबन्धनको मूल मर्मप्रति सधै प्रतिबद्ध रहेको जनाउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकज्यूहरुमा पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडामा मत माग्न र प्रचारप्रसारमा लाग्न अनुरोध गर्दछु,’ गिरीले भनेका छन्, ‘उम्मेदवारको मनोनयन फिर्ता लिने समयलाई मध्यनजर गर्दै छिटोभन्दा छिटो निर्णयमा पुग्नका लागि गठवन्धनका सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक आग्रह गर्दछु ।’

Advertisement

तपाईको प्रतिक्रिया