पोखरा- ३१ का पुराना कम्युनिस्ट नेता देवीदत्त तिवारीको आशीर्वाद एमालेलाई

समाधान संवाददाता २०७९ वैशाख १७ गते ९:४७

Advertisement

कृष्ण आचार्य पोखरा ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमाले पोखरा ३१ ले घरदैलो कार्यक्रमलाई जारी राख्दै जेष्ठ नागरिकको आशीर्वाद लिएको छ । शुक्रवारको घरदैलो कार्यक्रमका क्रममा पोखरा ३१ का एमालेका उम्मेदवारहरुले पुराना कम्युनिस्ट नेता देबिदत्त तिवारीसंग आशीर्वाद लिएका छन् । वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जरा सहित सदस्य पदका उम्मेदवारहरुले ९६ बर्षिय तिवारीसंग आशीर्वाद लिएका हुन् ।

तिवारी पुराना कम्युनिस्ट नेता एवं कम्युनिस्ट पार्टीका सेल्टरदाता समेत हुन् । कम्युनिस्ट पार्टी भुमीगत रहेको अवस्थामा उनकै निवासमा केन्द्रिय कमिटीको बैठक समेत सम्पन्न भएको थियो । सो अबसरमा जेष्ठ कम्युनिस्ट नेता तिवारीलाई एमालेले दोसल्ला लगाएर सम्मान समेत गरेको थियो । एमालेका उम्मेदवारहरुलाई आशीर्वाद दिदै तिवारीले एमालेबाट केही ब्यक्ति बाहिरिएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र गरेकोमा दु:ख लागेको भन्दै अबको निर्वाचनबाट पनि एमालेले देशैभर जित्नेमा आफुलाई बिश्वास रहेको बताए ।

पोखरा ३१ का लागि एमालेबाट अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले जेष्ठ नागरिकको माया र सम्मान गर्ने पार्टी एमाले नै भएकोले अबको निर्वाचनमा उहाँहरुको आशीर्वादले पनि एमाले नै बिजयी हुने बताए । अब शिक्षा, स्वास्थ्य, संचार र यातायात जस्ता बिकासका पुर्वधारमा आफ्नो जोड रहने भन्दै त्यसैमा केन्द्रित गरेर आफू मैदानमा उत्रिएको दाबी गरे । कमिटीले शुक्रबार पौरखे, माझथर, डाँडाथर, पौवा (आनन्द ज्योति), मुखियाथर , कोटबारी, मैदान लगायतका टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको प्रचार-प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

Advertisement

पार्टीका प्रदेश कमिटीका सदस्यहरू चतुरे बि.क. र सावित्री भण्डारी लगायतका नेताहरूको नेतृत्वमा एमाले पोखरा ३१ ले शुक्रबारको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । प्रचारप्रसार कमिटी संयोजक अधिकारीका अनुसार शनिबार बेगनासताल , मोहोरिया लगायतको टोलमा घरदैलो कार्यक्रम गरिने छ । स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने , महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ । पोखरा महानगरपालिका ३१ एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमाले फराकिलो मतान्तरले बिजयी भएको थियो ।

तपाईको प्रतिक्रिया