माछापुच्छ्रेमा कांग्रेसको चुनावी अभियान

समाधान संवाददाता २०७९ वैशाख १९ गते १०:२१

माछापुच्छ्रे l
नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाले आइतबारदेखि औपचारिक चुनावी अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका उम्मेदवारले सार्दीखोस्थित काभ्रे गाउँको देउराली मन्दिरको दर्शन गरेर प्रचारप्रसार एवं घरदैलोको औपचारिक सुरुवात गरेका हुन् ।

Advertisement

नेपाली कांग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्ष उम्मेदवार मीनबहादुर गुरुङ र उपध्यक्ष उम्मेदवार सीता अधिकारीले संयुक्त रुपमा अभियान सुरुआत गरे । गुरुङले गाउँपालिकाको समृद्धि र विकासका लागि उम्मेदवारी भएको जनाए । लोकप्रियता र प्रचारवाजीका लागि नभएर पालिकामा सुशासन र व्यवहारिक उपलब्धिकालागि उम्मेदवारी दिएको बताए । उपलब्ध स्रोतहरुको सही व्यवस्थापन हुन नसक्दा पालिका पछि परेको उल्लेख गर्दै उनको स्रोतको सही व्यवस्थापन र सदुपयोग गर्ने प्रतिबद्धता गरे ।

उपाध्यक्ष उम्मेदवार अधिकारीले महिलाको हकहितका लागि कुनै गुनासो नरहने गरी कामअघि बढाउने बताइन् । न्याय सम्पादनमा पालिकालाई अब्बल बनाउँदै योजनाबद्ध रुपमा दीर्घकालीन रुपमा छाप रहने गरी कार्य गर्ने उनको प्रतिवद्धता छ । देउराली दर्शनपछि उम्मेदवारहरुले मतदाता भेटघाट सुरु गरेका थिए ।

नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाका सभापति वीरेन्द्र गुरुङले मतदाताको आकर्षण कांग्रेसमा बढ्दै गएको उल्लेख गर्दै विजय सुनिश्चित रहेको जनाए । नेपाली काँग्रेस माछापुच्छ्रे २ का कार्यवाहक सभापति छविलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक खुसीमान गुरुङ, माछापुच्छ्रे २ का प्रचारप्रसार संयोजक मुम्जमान गुरुङ, जिल्ला प्रतिनिधि सुदोय गौतम, क्षेत्रीय सचिव मेखबहादुर क्षेत्री लगायतले बोलेका थिए । उम्मेदवारहरुलाई शुभकामना व्यक्त गरेको मिडिया संयोजक विजय लम्सालले जानकारी दिए ।

कार्यक्रममा ५ जना एमाले कार्यकर्ता कांग्रेस प्रवेश गरेको मिडियो संयोजक विजय लम्सालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया