चुनावमा बागी बनेका महामन्त्री जाेशी कांग्रेसबाट निलम्बित

समाधान संवाददाता २०७५ पुष २६ गते ७:२६


कृष्ण न्यौपाने
दमौली

नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको सदस्यता पाँच वर्षका लागि निलम्बन गरिएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय समितिले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँबाट आधिकारिक उम्मेदवारी बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका जोशीको सदस्यता पाँच वर्षका लागि निलम्बन गरेको हो ।

Advertisement

काङ्ग्रेसले निर्वाचनमा जोशीका प्रस्तावक बनेका हरिशरण पण्डित र समर्थक रामदेव पन्थको सदस्यता समेत पाँच वर्षका लागि निलम्बन गरेको छ ।

काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेद्वारा पुस १९ गते केन्द्रीय समितिलाई पठाएको पत्र बमोजिम मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार जारी गरेको विज्ञप्तीमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार बन्नुभएका जोशी, प्रस्तावक र समर्थकलाई कारवाही गरेको जनाइएको छ ।

Advertisement

२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काङ्ग्रेस वरिष्ठ नेता पौडेल विरुद्ध उम्मेदवारी दिनुभएका जोशीको उम्मेदवारी पौडेलको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि जोशीले तत्कालिन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई जिताउन खुलेर मत मागेको काङ्ग्रेसका जिल्ला स्तरीय नेताहरुले बताउने गरेका छन् ।

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरुको पार्टी सदस्यता नेपाली काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) तथा नेपाली काङ्ग्रेसको नियमावली २०६८ को नियम ४१ (१) बमोजिम पाँच वर्षका लागि स्वतः समाप्त हुने व्यवस्था रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जोशी समूहले तनहुँमा नेपाली काङ्ग्रेसको विशेष अधिवेशन गर्ने भन्दै तयारी थालिरहेको अवस्थामा केन्द्रीय समितिले विज्ञप्ती मार्फत् पार्टीको विधान विपरितका विशेष अधिवेशन लगायतका पार्टी हित विरोधी कुनै पनि गतिविधिहरुलाई निरुत्साहित गर्न र भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया