हेविवेट नेता गौचन र तुलाचनको गृह पालिकामा एमालेको घरदैलो अभियान

समाधान संवाददाता २०७९ वैशाख २० गते १६:१२

यही बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा एमाले थासाङ गाउँपालिका कमिटीले मंगलबार देखि घरदैलो अभियान सुरु गरेको छ । मुस्ताङको दुई हेविवेट नेताको गृह गाउँपालिका थासाङमा एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान सुरु गरेको हो ।
हेविवेट नेता पूर्व वाणिज्यमन्त्री एवं नेपाली कांग्रेस मुस्ताङका सभापती रोमी गौचन थकाली र मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको गृह पालिका रहेको थासाङको स्थानीय तहको निर्वाचनलाई नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको बिषय बनाएका छन् ।एमाले थासाङ ५ को कुञ्जो र ताक्लङबाट घरदैलो सुरु गरेको हो । घरदैलो कार्यक्रममा संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन ,नेकपा एमालेका केन्द्रिय सदस्य एवं मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचन,एमाले गण्डकी प्रदेश कमिटी सदस्य विशाल विकसहित थासाङ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार प्रदिप गौचन र उपाध्यक्ष सुमिता शेर्पा मतदाताको घरदैलोमा पार्टीको घोषणा पत्र र थासाङ पालिकाको प्रतिवद्धतापत्र लिएर उपस्थित भएका छन् । यस्तै,थासाङ गाउँपालिका ४ घाँसाबाट पनि नेपाली कांग्रेसले घरदैलो अभियान सुरु गरेको छ ।
२०७४ को स्थानीय तह निर्वाचन अन्र्तगत थासाङमा अध्यक्ष र उपाध्यक्ष पद नेपाली कांग्रेसले जितेको थियो ।कांग्रेसले थासाङमा २०७४ रेकर्ड कायम राख्ने योजनामा छ भने एमालले थासाङमा २०७४को स्थानीय तहको नतिजा उल्टाउने दाउमा छ । संघीयताको पहिलो कार्यकालमा मुस्ताङका ५ पालिका मध्ये ४ पालिकाले प्रशासकीय भवन निर्माण गरिसक्दा थासाङले भने भवन बनाउन सकेको छैन । पालिकाको केन्द्र बिवाद र पालिका भवन निर्माणमा असमती बनेपनि थासाङमा पालिका भवन बन्न सकेको छैन । यसपटक केन्द्र र प्रशासकीय भवनको एजेण्डा समेत चुनावी मसला दुबै पार्टीलाई हुने जनाईएको छ ।
यसपटक एमालेले कृषि,पशुपालन,पर्यटन,शिक्षा र स्वास्थ्य लगायतको एजेण्डा लिएर जनताको घरदैलोमा पुगेको एमालेका अध्यक्ष पदका उम्मेदवार प्रदिप गौचनले जानकारी दिए ।प्राकृतिक सम्पदाले भरिपूर्ण भएरपनि थासाङ क्षेत्रमा पर्यटकी पूर्वाधार तथा पर्यटनको विकास हुन नसकेको उल्लेख गर्दै एमाले उम्मेदवार गौचनले आफु बिजयी भएमा थासाङलाई पर्यटकी हबको रुपमा विकास गर्न योगदान दिने थासाङका मतदाता समक्ष बताएका छन् । प्राकृतिक प्रकोप र हिमपहिरोले गर्दा यहाँको पशुपालन व्यवसाय संकटमा पर्न थालेको उल्लेख गर्दै उम्मेदवार गौचनले पशुपालन व्यवसाय संरक्षण गर्न जलवायु अनुकुलनका उपाय अवलम्वन गर्ने जनाए ।उनले जलवायुकै कारण थासाङको कृषिक्षेत्रमा नकारात्मक प्रभाव परेकाले त्यसको विकल्प खोज्न बैज्ञानिक अध्ययन सुरु गरिने बताए । थासाङको समृद्धि र विकास अनि आर्थिक अनुशासन पालन गर्दै पालिकाको बृहत्तर विकासमा आफ्नो ध्यान जाने गौचनको भनाई छ ।
यस्तै,थासाङको उपाध्यक्ष पदकी उम्मेदवार सुमिता शेर्पाले चुनाव जित्ने दाउमा असम्भव सपना एमालले नबाड्ने बताईन् । ‘हामीले पुरै अध्ययन गरेका छौ,कति वर्षमा कति बजेट आउँछ कति काम हुनसक्छ,उनले भनीन् ,‘जनतालाई गमुराहमा राखेर चुनावको बेला सपना बाड्दैनौ,सक्ने काम मात्र हामीले जनतालाई बताएका छौं ।’

तपाईको प्रतिक्रिया